रानीपोखरी पुनर्निर्माणमा चौथोपटक टेन्डर आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक रानीपोखरी पुनर्निर्माणका लागि चौथो पटक टेण्डर आह्वान गरेको छ । तीन पटकसम्म टेन्डर आह्वान गर्दा पनि सक्षम निर्माण कम्पनी नआएको भन्दै चौथो पटक टेण्डर आव्हान गरेको हो ।

महानगरपालिकाले निर्माण कम्पनी छनोट गर्न नसकेपछि हाल रानीपोखरी पुनर्निर्माण अलपत्र परेको छ । कुनै निर्माण कम्पनीको कागजात नपुगेको र कुनै बढि रकम मागेकाले निर्माण कम्पनी छनोट गर्न नसकेको कामपाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले भने, ‘ठेक्का लागेका दुईवटा निर्माण कम्पनीको आवश्यक कागजात नपुगेपछि ती दुई कम्पनीले काम गर्न सकेनन् र पुन अर्को टेण्डर निकालेका हौं ।’

रानीपोखरी पुनर्निर्माणको लागत १२ करोड ६६ लाख तोकेकोमा रवीनाथ कन्स्ट्रक्सनले ११ प्रतिशत बढी रकम मागेपछि प्रस्ताव स्वीकार नगरेको र चौथो पटक टेन्डरको प्रक्रियामा रहेको कामपाको भनाइ छ । चौथो पटक पनि निर्माण कम्पनी नआए रानीपोखरीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै बनाउने तयारी छ ।

ठेक्का आह्वान गर्दा भनेजस्तो निर्माण कम्पनी नआएपछि सामुदायिक पहलबाट रानीपोखरी पुनर्निर्माण गर्न सकिने महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बताइन् । ‘पहिलो प्राथमिकता टेन्डर लगाउने नै हो तर बारम्बार टेन्डर लगाउँदा पनि भनेजस्तो निर्माण कम्पनी नआए सामुदायिक पहलबाट रानीपोखरी पुनर्निमाण गर्नेतर्फ अगाडी बढ्छौं’, उपमेयर खड्गीले बताइन् ।

०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको रानीपोाखरी पुनर्निर्माणको शिलान्यास सोही वर्ष भूकम्प दिवसको अवसरमा माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । तर, शिलान्यास गरेको ३ वर्ष बितिसक्दा पनि रानीपोखरी पुनर्निर्माणको कुनै उपलब्धी देखिएको छैन । सरकारले पुरातत्व विभाग र काठमाडौं महानगरपालिकालाई रानीपोखरी पुननिर्माणको जिम्मा दिएको हो । जसमा पोखरी पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाको हो भने पोखरीबीचको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा पुरातत्व विभागले पाएको छ ।

हाल शिखर शैलीमा मन्दिर बनाउने निर्णय सरकारबाट आएकाले डिजाइन परिवर्तन गर्नु परेकाले मन्दिर पुनर्निर्माण रोकिएका थियो । करिब १ वर्षसम्म बालगोपालेश्वर मन्दिर गुम्बज कि ग्रन्थकुट शैलीमा बनाउने भन्दै सकियो । सरकारले शिखर (ग्रन्थकुट) शैलीबटै सो मन्दिरको निर्माण हुने भएको छ ।

प्रतिक्रिया