मलेसियाको कलिङ भिसा आएको विवरण संकलन सुरु

काठमाडौं । सरकारले मलेसियाको कलिङ भिसा प्राप्त नेपाली कामदारको विवरण संकलन गर्न शुरु गरेको छ । वैदेशिक रोजगार विभागले आठ महिना पहिलेनै कलिङ भिसा आएर पनि जान नपाएका कामदारको विवरण मागेको गरेको हो ।

मलेसियासँग श्रम समझदारी भएर पनि रोजगारीमा जाने बाटो खुल्ला नगरिएको भन्दै कामदार र म्यानपावर व्यवसायीले खुल्ला गरिदिन सरकारलाई आग्रह गर्दै आएका थिए । तर कामदार पठाउने नयाँ प्रक्रिया तय नहुँदासम्म नपठाउने अडानमा सरकार रहेको छ । अहिले पनि कसरी पठाउने भन्ने विषय अन्योलमै छ ।

तर म्यानपावर व्यवसायीले जान बाँकी कामदारको विवरण बुझाएपछि त्यसैमा आधारित भएर पठाउने प्रक्रियाको विषयमा छलफल गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए ।

विभागले सोमबार सुचना जारी गर्दै कलिङ भिसा प्राप्त कामदारको नाम, ठेगाना, जान लागेको कम्पनी, भिसा आएको मिति र म्यादसहित बुझाउन म्यानपावर कम्पनीलाई भनेको छ । विवरण आएपछि नेपालस्थित मलेसियाको दूतावास र मलेसिया सरकारसँग पनि पठाउने प्रक्रियाको विषयमा छलफल गर्ने सचिव दाहालले बताए । म्यानपावर कम्पनीलाई विवरण १५ दिनभित्रमा बुझाउन भनिएको छ ।

यसैविच, मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावासबाट सोझैं भिसा पाएकालाई श्रमस्वीकृति दिन सुरु गरेको छ । मन्त्रालयको निर्णय अनुसार वैदेशिक रोजगार विभागले दूतावासबाट सोझै भिसा पाएका २० जनालाई श्रमस्वीकृति दिएको हो ।

श्रमस्वीकृति पाएका २० जना मलेसिया गइसकेका छन् । श्रम सम्झौतापछि मलेसिया जाने यो पहिलो समूह हो । उनीहरू ओटा टनेल कम्पनीमा ५ हजार रिंगेट तलब पाउने गरी गएका हुन् । दूतावासबाट सोझैं भिसा पाएकालाई श्रमस्वीकृति दिन कम्पनीले विभागमा निवेदन दिएको थियो । त्यसलाई श्रमस्वीकृति दिन मन्त्रालयबाट सहमति प्राप्त भएको विभागका महानिर्देशक दिलिप चापागाईले बताए ।

दूतावासले यसैगरी भिसा पाउने श्रमिकको नामावलीसहित पत्र पठाएमा श्रमस्वीकृति दिदै जाने उनले बताए । सरकारले गत जेठ २ देखि मलेसिया जाने नयाँ श्रमिकको श्रमस्वीकृति रोकेको थियो । गत कार्तिक १२ गते दुई देशबीच द्धिपक्षीय श्रम सम्झौता भएपनि श्रमस्वीकृति प्रक्रिया शुरु भएको थिएन ।

श्रम समझदारीको भावना अनुरुप श्रमस्वीकृति प्रक्रिया अगाडि बढाएको श्रम मन्त्रालयले जनाएको छ । कलिङ भिसा पाएकालाई सोझै भिसा उपलब्ध गराउन मन्त्रालयले मलेसियालाई अनुरोध पनि गरेको छ । झन्डै १० हजार श्रमिकले कलिङ भिसा पाएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । कलिङ भिसा पाएको श्रमिकको विवरण संकलन गर्ने तयारीसमेत मन्त्रालयले थालेको छ ।

प्रतिक्रिया