काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो पार्टीका पूर्व–सभापतिको नामबाट बनेका अस्पताललाई केन्द्र सरकार मातहत नराखेको भन्दै संघीय संसद्को बैठक अवरुद्ध गरेको छ ।
सोमबार बसेका प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कांग्रेसले केन्द्र मातहत राख्ने निर्णय तत्काल गर्न माग गर्दै अवरुद्ध गरेको हो । साथै कांग्रेसले डा. गोविन्द केसीका माग पनि जस्ताको त्यस्तै पारित गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाए ।
मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौवटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको कांग्रेसको आरोप छ ।
गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत राख्ने निर्णय नगरेसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष कांग्रेसको अडान
नेपाली कांग्रेसका नेताबाट ती अस्पतालको नाम राखिएकै कारण केन्द्र सरकारको मातहतबाट हटाएर अस्तित्व नै मेटाउन खोजेको गच्छदारको आरोप थियो । तनहुँमा बन्दै गरेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र र नेपालगञ्जमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत राख्न कांग्रेसले माग गरेको हो ।
स्वास्थ्य मन्त्रालयले ११ वटा स्वास्थ्य संस्था वर्गीकरण गर्न मन्त्रिपरिषद् बैठकमा लगेकोमा ९ वटाको मात्र भएको कांग्रेसका नामबाट बनेका दुई वटाको वर्गीकरण नभएको प्रति कांग्रेसले आपत्ति जनाएको हो । केन्द्र सरकार मातहत राख्नुपर्ने अस्पताललाई प्रदेश मातहत लैजाने तयारी भइरहेको कांग्रेसको आरोप छ ।
कांग्रेसको अवरोधकै कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी आगामी मंगलसम्मका लागि स्थगित भएको छ । ‘दुई तिहाइको बहुमतको अहंकारमा यो सरकारले जथाभावी निर्णय गर्न खोजेको छ’, उपनेता गच्छदारले थपे, ‘बिपी कोइराला राजमार्गलाई सक्ने भए केपी ओली राजमार्ग बनाउनुस् ।’
सरकारले भने उक्त प्रस्ताव स्थगन मात्रै भएको कांग्रेसले भनेजस्तो खारेज नभएको प्रस्टीकरण दिँदै आएको छ । बैठकमा कांग्रेसका नेताहरूले उठेर विरोध जनाएपछि केही समय रोकेर पुनः सुरु भएको दोस्रो बैठक पनि सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले पुनः अवरुद्ध गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक–पटक आग्रह गरे पनि कांग्रेसले आसनबाट उठेर विरोध जनायो । सोलगत्तै सभामुखले बैठक मंगलबार अपराह्न ३ बजे सम्मका लागि स्थगन भएको जानकारी दिए ।
बैठकमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको थियो । यस्तै, राष्ट्रियसभा बैठक पनि आगामी सोमबार बस्ने गरी स्थगित भएको छ । पहिलो बैठक ३० मिनेटका लागि स्थगित भएपछि सुरु भएको बैठकमा पनि कांग्रेस सांसदहरूले सरकारी निर्णय सच्याउन माग गरेपछि सभाध्यक्ष गणेश तिमल्सिनाले बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै आगामी सोमबार सम्मलाई बैठक स्थगित गरे ।
प्रतिक्रिया