सोमालियाका विद्रोहीमाथि अमेरिकी हमला

सोमालिया । अमेरिकाले सोमालियाको दक्षिणी र मध्य भागको नियन्त्रण गरिरहेको अल शाबाब विद्रोही समूहमाथि हवाई आक्रमण गरेको छ । सो आक्रमणमा परी ५२ जनाको मृत्यु भएको अमेरिकाले जनाएको छ ।

सो समूहले केही दिनअघि मात्रै केन्याको एक पाँचतारे होटलमा आक्रमण गर्दा करिब दुई दर्जन मानिसको मृत्यु भएको थियो । अमेरिकाको अफ्रिका कमाण्डको वक्तव्यमा जनाइएअनुसार सो हवाई आक्रमण शनिबार मध्य जुबा क्षेत्रको जीलिबमा भएको थियो । सोमाली सेनालाई अलकायदा समूहसँग सम्बन्ध रहेको समूहले आक्रमण गरेपछि उनीहरूलाई अमेरिकाले प्रत्याक्रमण गरेको हो । उक्त समूहले राजधानी मोगादिसुमा हाइप्रोफाइल आक्रमण गर्दै आएको थियो । वक्तव्यमा कति सोमाली सेना मारिएका थिए भन्ने बारेमा भने खुलाइएको छैन ।

अल शाबाबले भने ४१ सोमाली सेना मारिएको दाबी गरेको छ । त्यसमा अमेरिकी सेना मारिएको वा घाइते भएको भन्ने बारेमा चाहिँ खुलाइएको छैन । सोमालियको सरकारले भने घटनाको बारेमा प्रष्ट पारेको छैन । उता सोमालियाको छिमेकी राष्ट्र इथियोपियाको राष्ट्रिय टेलिभिजनले भने अल शाबाबका ६० जना लडाकू मारिएको र ४ वटा विस्फोटक पदार्थ बोकिएका गाडी ध्वस्त पारिएको समेत जनाएको छ ।

प्रतिक्रिया