डा. केसीको स्वास्थ्यमा सुधार

काठमाडौं । १२ दिनदेखि अनशनमा रहेका प्राडा. गोविन्द केसीलाई आइसियुबाट साधारण वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार देखिएको र केसीले पनि वार्डमा सार्न आग्रह गरेपछि सारिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

आइसियु बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर डा केसीले अन्यत्र सार्न आग्रह गरेपछि वार्डमा सारिएको आइसियु इन्चार्ज डा. सुवास आचार्यले बताए । केसीलाई अहिले सिंगल क्याबिनमा राखिएको छ ।

आइसियुबाट वार्डमा सारिएपछि पत्रकारसँग भेटघाटका क्रममा डा. केसीले १५ औं अनसनका क्रममा सरकारले आपूmसँग गरेका सम्झौता अक्षरशः पालना नगरेसम्म सत्याग्रह नतोड्ने अडान दोहो¥याए । साम्यवादी पार्टीले शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर जनतालाई आश्वासन दिएर चुनाव जिते पनि अहिले जनतालाई झुक्याउने काम गरेको केसीको भनाइ छ ।

सरकारले सम्झौता कार्यान्वयन नगर्दा आफूमाथि धोका नभएको बताएका डा. केसीले जनतामाथिको धोका भएको बताए । उनले सम्झौता पालना नगर्नु प्रधानमन्त्री केपी शर्मा ओलीको बेइमानी भएको टिप्पणी गरे ।

यसैबीच, डा. केसीको फोक्सोमा भएको संक्रमण सुधारोन्मुख भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अक्सिजन दिइरहेकाले रक्तचाप स्थिर रहे पनि छातीमा दुखाइ, मांसपेशी बाउँडिने, कमजोरी भने यथावत रहेको उपचार टोलीका सदस्य प्रमेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । छातीमा भएको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक्स चलाइएको विज्ञप्तीमा जनाइएको छ ।

शरीरमा सेता रक्तकोषिकाको मात्रा कमी तथा संक्रमणको जोखिम रहेकाले जुनसुकै बेला इमरजेन्सी उपचारको आवश्यक पर्ने चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया