सेव, आर्मी र मकवानपुरको विजयी सुरुआत

काठमाडौं । सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) आर्मी र थाहा नगरपालिका मकवानपुरले शनिबारबाट शुरु भएको १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।  नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सेवले थाहा नगरपालिका मकवानपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गर्यो ।

सेवले थाहा नगरपालिकामाथि २५–१७, २५–११ र २५–१५ को सहज जित निकाल्यो । उद्घाटन खेलमा त्रिभुवन आर्मीि आर्मीले श्री गाँउ खेलकुद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । आर्मीले दाङमाथि २५–१८, २५–८ र २५–१६ को सहज जित निकाल्यो ।

शनिबारै भएको तेश्रो खेलमा थाहा नगरपालिका मकवानपुरले आयोजक ढोरपाटन क्लबलाई २५–१६, २५–१२ र २७–२५ को सोझो सेटमा पराजित गर्दै मिश्रित नतिजा निकाल्यो । माघ १९ सम्म संचालन हुने प्रतियोगिताका उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिमिल्सिनाले गरेका थिए । सो अवसरमा नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का,सह प्रायोजक भिजी अर्टोमोवायल प्रालिका मार्केटिङ मेनेजर नवराज कोईराला,आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्याललगायतको उपस्थिति रहेको थियो ।

डबल लिगको आधामा हुने प्रतियोगिता अन्तरगत आइतबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा दाङ र मकवानपुर, दोस्रो खेलमा ढोरपाटन र सेव, तेस्रो खेलमा आर्मी र मकवानपुर तथा चौथो खेलमा दाङ र ढोरपाटनबीच खेल हुनेछ । प्रतियोगिता ५ माघबाट १९ माघसम्म चल्नेछ ।

एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखरा, त्रिभुवन आर्मी क्लब, चितवन टाइगर्स, श्री गाँउ खेलकुद बिकास समिति दाङ, सेव स्कुल, थाहा नगरपालिका मकवानपुर र आयोजक ढोरपाटनको सहभागिता रहनेछ । दोस्रो चरणमा ७ टोलीले स्थान बनाउनेछन् । यि टोलीहरूबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् ।  त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्रप्त गर्ने आयोजकले जानकारी दिए ।

प्रतिक्रिया