प्रदेश १ को नाम लिम्बुवान–किरात/खम्बुवान : अध्यक्ष लिङदेन

राम योङहाङ, इलाम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेनले प्रदेश १ को नाम लिम्बुवान–किरात/खम्बुवान राखिनुपर्ने बताएका छन् । ऐतिहासिकता र पहिचानका आधारमा लिम्बुवान–किरात/खम्बुवान नामाङ्करण गर्न माग गर्दै अध्यक्ष लिङदेनले त्यसो नभए विद्रोह हुने चेतावनी दिए ।

डा। गोविन्द केसीको सत्याग्रहलाई ऐक्यवद्धता जनाउन शुक्रबार इलाम आएका अध्यक्ष लिङदेनले बहुमतका बलमा पेलेर जान खोजे गृहयुद्ध हुने चेतावनी दिए । ‘हामीले दशकौंदेखि शान्तिपूर्ण रुपमा माग राखिरहेका छौं । सत्ताधारीले बहुमतका बलमा यो प्रदेशको नाम कोशी वा सगरमाथा राखे गृहयुद्ध सुरु हुन्छ’ अध्यक्ष लिङदेनले भने, ‘त्यसपछि के हुन्छ स्वयम् सत्ताधारी दलहरुले भोग्नेछन् ।’

अध्यक्ष लिङ्देनले डा गोविन्द केसीको माग नेपाली जनताको माग दावी गर्दै पूरा गर्न सरकारलाई आग्रह गरे । उनले डा। केसीको विरुद्धमा भिजिलान्ते प्रयोग नगर्न चेतावनी दिदैं भने ‘केसीमा जस्तो त्याग सवै साधारणमा हुँदैन, उनको अभियानका विरुद्ध उत्रीए प्रतिकार गर्न बाध्य हुनेछौं ।’ त्यसका लागि तयार रहन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

संघीय दलित (शिल्पी) मञ्चकी महासचिव सर्मिला बागदासले सरकारले केसीको मागलाई वेवास्था गरे देश भरीका मञ्चाका कार्यकर्ताले आन्दोलन छेड्ने उद्घोष गरिन् । नागरिक अगुवा धर्म गौतमले केसीका मागहरु केसीका मात्र नभई जनताको माग भएको दावी गर्दै यसअघि केसीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।

महिला अधिकारकर्मी विष्णु दहालले पनि केसीका माग वेथितिका विरुद्ध भएकाले इलाममा उनको समर्थनमा सडकमा आएको बताइन् । डा केसीको स्वास्थ्य अवस्था विग्रीएपछि विहीबार राती काठमाण्डौ लगिएको थियो । डा केसीको समर्थनमा शुक्रबार पनि इलाममा प्रदर्शन गरिएको छ ।

संघीय लोकतान्त्रिक राष्टिय मञ्च संघीय लिम्बुवान मञ्च र स्थानीय नागरिक अगुवाहरुको पहलमा प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया