रेग्मीको निधनप्रती सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता केशवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट पार्टीले एक अग्रज नेता गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । कांग्रेस कास्कीका अग्रज नेता रेग्मीको ७३ वर्षको उमेरमा निधन भएको छ ।

विसं २०३० मा गण्डकी छात्र समितिबाट राजनीतिमा प्रवेश गरेका रेग्मी नेपाल तरुण दल कास्कीका संस्थापक थिए । स्व रेग्मीले पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पटक पटक गरी करीब पाँच वर्ष जेल जीवन समेत बिताएका थिए ।

आजै सभापति देउवाले सिन्धुपाल्चोक कांग्रेसका पूर्वमहासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानको काठमाडौँको भेडासिंहस्थित निवासमा ९२ वर्षको उमेरमा यही माघ ३ गते निधन भएको पार्टी कार्यालयले जनाएको छ । स्व प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया