योहान कालिन राष्ट्रिय फुटबल टिमको प्रशिक्षक

काठमाडौं । स्विडेनका योहान कालिन नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी कालिनलाई दिने निर्णय गरेको हो ।

काठमाडौंमा बिहिबार बसेको एन्फा कार्यसमिति बैठकले कालिनको नाम अनुमोदन गरेको हो । एन्फाको निर्णयसंगै कालिन फुटबल टिम समाल्न नेपाल आउने पक्का भएको छ । ०७० सालमा ए डिभिजन क्लब मछिन्द्रबाट मुख्य प्रशिक्षकको रूपमा काम गरेका काहिलले त्यो सिजन सनसनीपुर्ण नतिजा निकालेका थिए । उनकै नेतृत्वमा मछिन्द्रले दोस्रो स्थानमा रहेर लिगको समापन गरेको थियो ।

स्विडेनको तेस्रो डिभिजन क्लबबाट व्यवसायीक प्रशिक्षण सुरु गरेका उनले प्रशिक्षकको रूपमा युइएफएको बी कोर्स गरेका छन् । ओभर स्टे भिषाका कारण मुख्य प्रशिक्षक ग्यातुकी कोजी स्वदेश फर्किएपछि नेपालले मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनलाई सुम्पिएको थियो । उनकै नेतृत्वमा नेपालले साफ च्याम्पियनसिप खेलेको थियो ।

प्रतिक्रिया