‘मादीको साख फर्किन्छ’

संखुवासभा । कुनै एउटा समय थियो संखुवासभाको मादीलाई नेपालकै एक उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा लिने गरिन्थ्यो ।

नेपालको कर्मचारीतन्त्रको उच्च ओहोदामा पुगेका कर्मचारी र शिक्षित बर्गको केन्द्रसम्मको उपस्थितिले यो कुरालाई प्रमाणित पनि गर्दथ्यो । तर, यो कुरा पछिल्लो समय ‘एक ताका’ मा सीमित हुँदै गएको पाइन्छ ।

देशमा संघीयता लागू भएसँगै माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको जिम्मा लाग्यो । मादी नगरपालिकामा रहेका मादी बहुमुखी क्याम्पस र मादी उच्च माध्यमिक विद्यालयलाई राम्रो शैक्षिक गन्तव्य बनाउन मादी नगर कार्यपालिकाले कम्मर कस्ने भएको छ ।

उच्च माध्यमिक तहको अध्ययनका लागि एउटा राम्रो गन्तव्य बन्न सक्ने मादी बहुमुखी क्याम्पसको विकासका लागि मादीमा बहुधार्मिक महोत्सवको आयोजना गरिदैछ । उक्त महोत्सवबाट आर्थिक संकलन गर्ने र त्यसले मादी बहुमुखी क्याम्पसको शैक्षिक स्तर उकास्ने योजना रहेको मेयर विदुर सुब्बाले बताए ।

‘अग्रजहरूले मादीलाई जसरी शैक्षिक केन्द्रका रूपमा विकास गर्नुभयो, पछिल्लो समय विभिन्न कारणले उक्त कुरा कथा जस्तो भयो ।’ मेयर सुब्बाले सँग भने ‘हाल स्थानीय तहमा रहेका क्याम्पस न प्रदेशले जिम्मा लिनसक्छ, न विश्व विद्यालयले नै यसको जिम्मा लिन सक्छ । यो जनताको संस्था हो, मादीको साख फर्काउन जनता सँगै मिलेर शैक्षिक विकास गर्ने योजना छ ।’

मेयर सुब्बाका अनुसार उक्त महोत्सवमा हिन्दू, बौद्ध किराँतलगायत धर्मका धार्मिक पुराणको आयोजना गरिने छ । उक्त महायज्ञको आयोजनामा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै बेहोर्ने छ । उक्त महायज्ञमा उठेको रकम बराबर नगरपालिकाले रकम थप गरी एउटा कोष स्थापना गर्नेछ । त्यसै कोषबाट क्याम्पसको शैक्षिक विकास गर्ने योजना रहेको मेयर सुब्बाले बताए ।

त्यस्तै देशमा विकसित हुँदै गएको जातीय द्वन्दलाई निरुत्साहीत गर्ने सन्देश दिनसमेत उक्त महोत्सवको आयोजना गर्न लागिएको मेयर सुब्बाको भनाई छ । ‘यो महोत्सव पछि धार्मिक एकता स्तम्भ उठाउने योजना छ ।

हामी भावी पुस्तालाई समेत हाम्रा पुर्खा मिलेर बसेका रहेछन् भन्ने सन्देश दिन्छौ ।’ मेयर सुब्बाले भने ‘यहाँ सबै धर्मका धार्मिक गतिविधि गरिन्छ । यसले धार्मिक एकता कायम गर्छ, देशमा यो आवश्यक थियो । उक्त काम मादीले गर्न लागेको हो ।’ मादी बहुमुखी क्याम्पसलाई यस अघि जस्तै लिडिङ क्याम्पसका रूपमा आगामी वर्षबाटै बनाउने योजना नगरपालिकाको रहेको मेयर सुब्बाले बताए ।

प्रतिक्रिया