बस दुर्घटनाप्रति मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

बलेवा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पर्वतको मालढुङ्गामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

म्याग्दीको बेनीबजारदेखि नारायणगढका लागि छुटेको ग १ ख ६१०८ नंको बस दुर्घटना हुँदा मृत्यु भएका सात जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै गुरुङले घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री गुरुङले मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै उद्धार कार्यमा खटिने सबैलाई धन्यवाद दिएका छन् ।

१० जनाको हेलिकप्टरमा उद्धार

सोही बस दुर्घटना परी गम्भीर घाइते १० जनाको हेलिकप्टरमा उद्धार गरिएको छ । घाइते दुई जनालाई डाइनेस्टिक एयरको हेलिकप्टरमा काठमाडौँको ग्राण्डी अस्पताल, एक जनालाई सिम्रिक एयरको हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल तथा सात जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँको छाउनी अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । अन्य २२ घाइतेलाई एम्बुलेन्समार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया