सातौँ उपाधिको लक्ष्यमा फेडेरर

एजेन्सी, मेलबर्न । डिफेन्डिङ च्याम्पियनसमेत रहेका विश्व पूर्वनम्बर एक स्विस स्टार रोजर फेडेरर अस्ट्रेलियन ओपनको तेस्रो चरणमा स्थान बनाउँदै बुधबार सातौं उपाधि यात्रामा होमिएका छन् । यसअघि छैटौं पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका ३७ वर्षे स्टार फेडेरर बुधबार ब्रिटेनका युवा स्टार डान इभान्समाथि सोझो सेटमा जित निकाल्दै सातौं उपाधियात्रामा होमिएका हुन् । मेलबर्न पार्कको रोड लेभर एरिनामा फेडेररले इभान्सको चुनौती ७–६ (७/५), ७–६ (७/३) र ६–३ ले समाप्त पारेका थिए । करियरको २१औं ग्रान्ड स्लाम जितेका फेडेररले तेस्रो चरणमा अमेरिकाका टेलर फ्रिजविरुद्ध खेल्नेछन् ।

टेलरले दोस्रो चरणमा फ्रान्सका गाइल मोनफिल्समाथि ६–३, ६–७ (८/१०), ७–६ (८/६) र ७–६ (७/५) ले हराउँदै विश्व नम्बर तीन फेडेररसँगको भेट पक्का गरे । जितपछि फेडेररले टेलरसँग खेल्न निकै कठिन भएको बताएका थिए । ‘मैले जतिसक्दो चाँडो खेल आफ्नो पक्षमा पार्ने प्रयास गरें,’ फेडेररले भने, ‘तर उनले निकै कडा परिश्रम गरेर कडा चुनौती दिए । खेललाई धेरै समयसम्म धकेले ।’

अमेरिकाका युवा स्टार फ्रान्सिस टाइफोईले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई ३–१ सेटले स्तब्ध बनाउँदै तेस्रो चरणमा स्थान बनाए । पहिलो सेट ६–४ ले गुमाएका २० वर्षे फ्रान्सिसले त्यसपछि ३२ वर्षे केभिनमाथि ६–४, ६–४ र ७–५ को जित रचे । महिला एकलको डिफेन्डिङ च्याम्पियन क्यानडाकी कारोलिन वज्नियस्कीले पनि तेस्रो चरणमा स्थान बनाएकी छन् ।

विश्व नम्बर तीन वज्नियस्कीले स्विडेनकी जोहन्ना लार्सनलाई ६–१ र ६–३ ले हराउँदै उपाधिरक्षाको यात्रा जारी राखेकी छन् । वज्नियस्कीले तेस्रो चरणमा रूसकी मारिया सारापोभासँगको भेट पक्का गरेकी छन् । ‘निकै राम्रो सुरुआत गर्न सफल भएँ । आफ्नो आक्रमण शैलीलाई दोस्रो चरणमा पनि जारी राखेका छु,’ वज्नियस्कीले भनिन्, ‘उनले निकै कम गल्ती गरेपछि मैले पनि आफ्नो धैर्यता गुमाइनँ । त्यसैले सहज जित हात पारें ।’

त्यस्तै सन् २०१६ को विजेतासमेत रहेकी विश्व नम्बर दुई जर्मनीकी एन्जेलिक केरबेरले पनि तेस्रो चरणमा स्थान बनाएकी छन् । तीन पटक ग्रान्ड स्लाम च्याम्पियन केरबेरले ब्राजिलकी हाडाड माइयालाई ६–२ र ६–३ ले स्तब्ध बनाइन् । केरबेरले तेस्रो चरणमा अमेरिकाकी स्टेफेन्स कोलिन्ससँग प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया