कर विवाद नसुल्झँदै एनसेल पुनः बिक्रीमा

काठमाडौं । कर छलेको मुद्दा टुंगोमा नपुर्याउँदै निजी क्षेत्रको एनसेल बिक्री गर्ने प्रक्रिया सुरु भएको छ । यसका हालका लगानीकर्ता विक्रेताको खोजी गर्दै युनाइटेड अरब इमिरेट्सको दुबई पुगेका छन् ।

एनसेलका लगानीकर्ता एक्जियटाका सञ्चालक र सतिशलाल आचार्य दुबईमा रहेको उच्चस्रोतले जानकारी दिएको छ । उनीहरूले सो कम्पनी तीन खर्ब ४० अर्ब रूपैयाँमा साउदी अरबमा मुख्य कार्यालय रहेको अब्दुल वाहव एल गल्दारी ग्रुप(एडब्लुजिएएल)लाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

एनसेल बिक्रीका लागि एडब्लुजिएएललाई एक्जियटा र सुनिभेरा क्यापिटल भेञ्चर प्रालीका तर्फबाट गत जेष्ठ १९ गते लेटर अफ इन्टेन्ट (एलओआई) जारी गरेको थियो । त्यसबीचमा एनसेलका केही मुद्दाहरूका बारेमा समाचार आएपछि सो कम्पनी केहीपछि हटेको थियो । तर, पछिल्लो समय सबै कुरा मिलिसकेको भन्दै ८० प्रतिशत सेयरहोल्डर रहेको एक्जियटा र २० प्रतिशतका स्थानीय साझेदार आचार्य दुबई पुगेका हुन् ।

उनीहरूले यसअघि सेयर हस्तान्तरण हुँदाको लाभकर विवादलाई टुंगोमा नपुग्दै कम्पनी बेचेर नेपालबाट बाहिरिन खोजेका छन् । टेलियाबाट एक्जियटामा सेयर हस्तान्तरण हुँदाको विवाद अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

सुरुमा लाभकर भुक्तानी आफ्नो दायित्व नभएको दाबी गरेको एनसेलले नौ अर्ब ९६ करोड ९५ लाख रूपैयाँ लाभकर भुक्तानी गरेको थियो । कम्पनीले त्योभन्दा बढी लाभ गरेको दाबी कर कार्यालयले गरेपछि फेरी नपुग रकम भन्दै ११ अर्ब ५७ करोड ८४ लाख लाभकर र त्यसमा दुई अर्ब दुई करोड ६२ लाख रूपैयाँ ब्याजसहित १३ अर्ब ६० करोड ४७ लाख रूपैयाँ भुक्तानी गरेको थियो ।

तर, ठूलाकरदाता कार्यालयले लाभकरमा लाग्ने २५ प्रतिशतमध्ये एनसेलमार्फत १५ प्रतिशत अग्रिम कर आएको भन्दै टेलियालाई १६ असार ०७४ सालमा ६० अर्ब ७१ करोडको कर एसेसमेन्ट गरेको थियो । सो विषयमा विवाद उत्पन्न भएपछि सो मुद्दा सर्वोच्च पुगेको हो । अहिले एनसेल तोकेकै मुल्यमा बिक्री भए सो कम्पनीलाई डेढ खर्ब रूपैयाँभन्दा बढी मुनाफा हुने देखिएको छ । यो बीचमा सो कम्पनीले सर्वोच्चकै आदेशबाट ३६ अर्ब रूपैयाँ लाभांश पनि लगिसकेको छ ।

सन् २०१५ डिसेम्बर २१ मा एक्जियटाले एनसेलमा भएको टेलियाको ८० प्रतिशत सेयर एक अर्ब ३६ करोड ५० लाख डलरमा खरिद गर्ने घोषणा गरेको थियो । त्यसैगरी निरजगोविन्द श्रेष्ठको स्वामित्वमा भए पनि टेलियाकै ‘इकोनोमिक इन्ट्रेस्ट’ भएको एनसेलको २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेञ्चर प्रालिले चार करोड ८० लाख डलरमा खरिद गरेको थियो । यो रकमको भुक्तानीका लागि एक्जियटाले आफ्नै स्वामित्वमा रहेको कम्बोडियन कम्पनी स्मार्ट टेलिकममार्फत आचार्यलाई ‘फाइनान्सिङ’ गरेको थियो । सुनिभेरा क्यापिटल गैरआवासीय नेपाली आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको कम्पनी हो ।

एडब्लुजिएएललाई एक्जियटा र सुनिभेराले जेष्ठ १९ गते एलओआई जारी गरेका थिए । यो एलओआइमा अफिस अफ अब्दुलवाहब गलदारीका तर्फबाट त्यसका अध्यक्ष अब्दुलवाहब इलायज अब्दुलवाहव एल गल्दारीले हस्ताक्षर गरेका छन् भने एक्जियटाको तर्फबाट कम्पनीका अध्यक्ष तथा सिइओ तानश्री जमालउद्दिन इब्राहिम र सुनिभेरा क्यापिटल भेन्चरका तर्फबाट सतिशलाल आचार्यले असार ८ मा हस्ताक्षर गरेका छन् ।

एलओआईमा हस्ताक्षरपछि एडब्लुजिएएलले ड्यु डेलिजेन्स रिभ्यु गर्ने सहमति गरिएको छ । कम्पनीले वित्तीय, प्राविधिक, व्यापार, सञ्चालन, कानुनी प्रावधान र मानव संसाधनको ड्यु डेलिजेन्स गर्न चाहेको छ । यसैबीच, अर्का व्यापारी अजय सुमार्गीसमेत आफ्नो टेलिकम कम्पनी हेलो नेपाल बिक्रीका लागि दुबई पुगेका छन् । उच्चस्रोतका अनुसार उनी पनि एनसेलको टोलीसँगै दुबई पुगेको जानकारी दिएको छ ।

सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट बैंकबाट निकालेको ८४ लाख डलर फिर्ता गर्न आदेश दिएको केही दिनअघि उनी दुबई पुगेका थिए । सर्वोच्चको निर्णय हुँदा उनी दुबईमै रहेको र एनसेलसँगै हेलो नेपाल पनि बेच्न उनी त्यहाँ गएका हुन् । अहिले खरिद गर्न लागिएको. भनिएको कम्पनी भने अब्दुलवाहब गल्दारी संयुक्त अरब इमिरेट्सका व्यवसायी हुन् ।

प्रतिक्रिया