म्यादी बिमा बिमकको पुलमार्फत

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको बिमालाई बढी व्यवस्थित, प्रभावकारी तथा वैज्ञानिक बनाउने लक्ष्यका साथ बिमा समितिले म्यादी बिमा व्यवसाय बिमकको पुलमार्फत सञ्चालन गर्ने भएको छ । समितिले सबै बिमा कम्पनीलाई परिपत्र गरी वैदेशिक रोजगार म्यादी जीवन बिमा व्यवसाय बिमकको पुलमार्फत सञ्चालन गर्न निर्देशन दिएको हो । सो योजना मंगलबारदेखि लागू भएको छ ।

विधिवतरूपमा पुल गठन नभएको अवस्थामा आजदेखि भने बिमकले जारी गरेका सबै बिमालेखमा बिमकको बजार हिस्साबमोजिम सञ्चालन गर्न र पुल गठन नभएसम्म व्यवसाय सञ्चालनलाई विद्यमान व्यवस्था अनुसार नै गर्न निर्देशन दिइएको छ । हाल तय भएको बिमाको हिस्साको अनुपात चालु आर्थिक वर्षको असार मसान्तसम्म लागू गर्ने र ०७६ साउन १ देखि समितिको रोहवरमा हिस्सा परिवर्तन गर्ने उल्लेख गरिएको छ । चौथो वर्षको सुरुदेखि भने सबै बिमा कम्पनीको हिस्सा समान बनाइनेछ । यस्तै, यही माघ १५ गतेसम्म सबै जीवन बिमा कम्पनीले सहमति गरी पुल सञ्चालनको कार्यविधि बनाई समितिमा पेस गर्न आग्रह गरिएको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिले नेसनल नेपाल लाइफ इन्स्स्योरेन्सलाई १९, नेपाल लाइफ इन्सुरेन्सलाई ११, सूर्य लाइफलाई १२, गुराँस लाइफलाई दुई, प्राइम लाइफलाई १५, आइएमई लाइफलाई पाँच, युनियन लाइफलाई ११, रिलायन्स लाइफ एक, रिलायवल नेपाल लाइफ र यस्तै सिटिजन लाइफलाई समान आठ प्रतिशत बराबरको हिस्सा दिएको छ । यस्तै, सानिमा लाइफ, सन नेपाल लाइफ, राष्ट्रिय बिमा संस्थान, मेट लाइफ एलिको, एसियन लाइफ, ज्योति लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्सुरेन्सलाई समान एक÷एक प्रतिशतको दरमा बजार हिस्सा निर्धारण गरिएको छ ।

समितिले यस अघि गत मंसिर २६ गते पनि एक निर्देशनमार्फत मुलुकभरका विभिन्न वैदेशिक रोजगारको कार्यालयको वरिपरि एउटा बिमकको एउटा मात्र कार्यालयमार्फत बिमालेख जारी गर्न आग्रह गरेको थियो । समितिले बिमालेख जारी गर्दा कम्प्युटरबाट एउटै बिमालेख तथा रसिद, निष्कासन गरी आधिकारीक व्यक्तिको हस्ताक्षर सहितको बिमालेख जारी गर्न र बिमालेखमा बिमकबाट अधिकार प्राप्त व्यक्तिले सही गर्ने स्थानमा बाहेक अन्यत्र कुनै पनि विवरण भर्न, थप्न नपाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया