थारू समुदायमा आयो परिवर्तन

अहिले थारू समुदायको अनुहार फेरिएको छ । थारू समदायमा २० वर्ष पहिले जस्तो न गरिबी छ न त दासता । कमलरी बस्ने बालिकाहरू विद्यालय जान थालेका छन्, भने वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरू मुक्त भएका छन् । थारू समुदायको पहिचानको रूपमा रहेका वेशभूषा, भाषा र परम्परासमेत परिवर्तन हुँदै गएको थारू जानकार केबी चौधरी बताउँछन् ।

सदियौंदेखि पश्चिम नेपालका थारू समुदाय अरूको घरमा दासका रूपमा कमैया जीवन बिताउँथे, महिलाहरू कमलरी जीवन जिउन बाध्य थिए । तर, २ साउन ०५७ सालमा सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । मालिकको घरमा कमैया जीवन जिउनबाट थारू समुदाय मुक्त भए । यस्तै, ३ साउन ०७० सालमा कमलरी मुक्तिको घोषणा पनि सरकारले ग¥यो । मुक्त भएका कमलरीहरू अहिले स्वतन्त्र रूपमा जीवन निर्वाह गर्दै छन् । तर, कमैया र कमलरी बालिकाहरूको पुनस्र्थापनाको काम भने सरकारले प्रभावकारी रूपमा गर्न सकेको छैन ।

छोराछोरीसहित खेतमा काम गर्न जाने थारू समुदायका अभिभावकहरू अहिले छोराछोरीलाई विद्यालयमा पु¥याउन जान्छन् । थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरी भन्छन्, ‘थारू समुदायमा चेतनाको लहर पैदा भएको छ । गाउँमा आएका नयाँ मान्छेसँग बोल्न डराउनेहरू अहिले सार्वजनिक कार्यक्रममा भाषण गर्छन् । स्थानीय वन समूह र उपभोक्ता समूहको नेतृत्व गर्ने थारू समुदायकैै भएका छन् ।’

देउखुरी गढवा–७ मानपुरकी उर्मिला चौधरीलाई माघीको अर्को दिन रुँदै घर छोड्नुपथ्र्यो । बाबुआमाको मन रुन्थ्यो वा रुन्थेन थाहा छैन तर, पढ्ने उमेरकी छोरीलाई मालिकको घर पठाउनुपर्ने बाध्यता थियो । उर्मिला जस्तै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका बालिकाहरू २० वर्ष पहिले कमलरी जस्तो दासतापूर्ण जीवन बाँच्न विवश थिए ।

थारू समुदायका लागि माघी नयाँ वर्ष हो । नयाँ वर्षमा कमलरी बस्ने ठेगाना तय हुन्थ्यो । खाने अनि लगाउने निश्चितता, न्यूनतम रकमको लोभ र जग्गा जोत्न पाउने आशामा थारू समुदायका बालिकालाई जमिनदार र धनी घरमा कमलरी बसाल्ने प्रचलन थियो । १९ वर्ष लामो सामाजिक आन्दोलनबाट १२ हजार ७ सय १ जना बालिका मुक्त भएको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् ।

त्यही आन्दोलनबाट नेतृत्वमा उठेकी शान्ता चौधरी अहिले सत्तारूढ दल नेकपाको सचेतक भएकी छन् । उर्मिला चौधरीले सामाजिक आन्दोलनको अभियन्ताको रूपमा नेदरल्यान्डस् सरकारबाट ‘फ्रिडम फ्रमपियर’ पुरस्कारसमेत प्राप्त गरिन । तर, संस्थाका अनुसार पाँच जिल्लामा गरेर अझै ७८ जना बालिका कमलरी बस्न बाध्य छन् ।

१९ वर्ष पहिले ०५७ सालमा मुक्त घोषित कमैयाहरू अहिले आफ्नै बलबुतामा जीवन चलाइरहेका छन् । दाङका सन्चे चौधरीले २८ वर्ष मालिकको जमिन जोते । उनको बाउबाजेले जमिनदारकै घरमा प्राण त्यागेपछि त्यही जमिनमा सन्चेले जीवनका २८ वर्ष पसिना बगाएका हुन् । मुक्ति घोषणापछि उनी ऐलानी जग्गामा बस्दै आएका छन् ।

सन्चेजस्ता मुक्त कमैयाहरू सरकारले लगत लिएर प्रामाणीकरण गरेको संख्या दाङमा १ हजार ४ सय २६ परिवार छ । यसमा २ सय १५ जना पूर्ण रूपमा घरवारविहीन अवस्थामै छन् भने अरू ४ सय ३ घरपरिवार ऐलानीमा बसोबास गर्छन् । अरू ३ सय २४ परिवारसँग दुई कट्ठासम्म जमिन भएको र ३ सय ९७ परिवारसँग २ कट्ठामाथि जमिन भएको भूमि सुधार कार्यालय दाङका हरिप्रसाद चौधरीले बताए ।

भूमिसुधार कार्यालय दाङको तथ्यांकअनुसार ७ सय ५ परिवारले जग्गा प्राप्त गरेका छन् । ६ धुरदेखि ५ कट्ठासम्म जग्गा प्राप्त गरेका मुक्त कमैयाहरू देउखुरीका लालमटिया, कर्री सामुदायिक वन, गंगापरस्पुरको सालझण्डी सामुदायिक वन, गढवाको मानपुरलगायतका स्थानमा बस्दै आएका चौधरीले बताए ।

दाङमा मोहियानी हकका लागि अहिले पनि करिब सात हजार किसान लडिरहेका मुक्त कमैया समाज दाङका अध्यक्ष हरिश्चन्द्र चौधरीले बताए । वर्षौंदेखि जोतेको जग्गा बापत केही पाउने आशासहित जिल्लाका ६ हजार ८ सय ११ जना किसान निरन्तर आन्दोलनमा छन् । मोहियानी हक प्राप्त गर्न किसानहरू अहिले पनि लड्दै आएका छन् ।

थारू समुदायमा अगुवा तथा नेतृत्व चयन गर्ने काम माघीमा नै गरिन्छ । प्रत्येक घरबाट जम्मा भएका घरमूलीले महटवा चुन्ने गर्छन् । अगुवालाई ठाउँ विशेषअनुसार बरघर, ककनदार, भलमन्सा, महटाँवा पनि भनिन्छ । वर्षभरिको गाउँको विकास, क्रियाकलाप, पूजाआजाका गतिविधिको समीक्षा गरिन्छ भने आगामी वर्षका लागि योजनासमेत बनाइन्छ ।

‘पहिले र अहिलेको काममा केही परिवर्तन आएको छ, पहिले बैठकमा कमैया, कमलरी बस्ने÷बसाउने, कहाँ पठाउने, कति ज्यालामा पठाउने भन्ने विषयमा समेत छलफल हुन्थ्यो,’ घोराही–३ भानपुर गाउँका महटवा लालबहादुर चौधरीले भने, ‘अहिले भने पूजा कसरी गर्ने, पर्व कसरी मनाउने, गाउँको विकासका लागि सरकारी निकायसँग सहजीकरण कसरी गर्ने, मृत्यु भएका र विवाह घरमा कसरी जाने, कसरी काम गर्नेजस्ता सामाजिक विषयमा छलफलका हुने गर्छ ।’ माघी एक प्रकारले समाजको विकासका लागि छलफल गर्न अवसर जस्तै बनेको छ उनीहरूका लागि ।

थारू समुदायको परम्परा, पहिचान, रहनसहन र मौलिक पक्षहरूको संरक्षणका लागि महटवाले योजना बनाएर अगाडि बढ्ने प्रचलन बढेको दाङ जिल्ला मटहवा महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । उनका अनुसार समय, कालखण्ड र परिस्थितिअनुसार अगुवाको काम र भूमिका पनि परिवर्तन हुँदै गएको छ ।

थारू समुदायका लागि माघी नयाँ वर्ष हो । नेपालीहरूको माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारू समुदायको माघी पर्व महिनाभर मनाइन्छ । माघी पर्व थारू समुदायको नाचगान र खानपिनमा मात्र सीमित हुँदैन । यो अवधिमा यससँगै जोडिएका सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिक विषयहरूसमेत उठ्ने÷उठाउने गरिन्छ । जसले आफू बसेको समाजलाई हित पुगोस् ।

‘माघी पर्व खानपिन र रमाइलोमा मात्र सीमित छैन, खेतीपाती कृषि किसानीमा बढी व्यस्त रहने थारू समुदायका लागि चाडपर्व थकान मेटाउने अवसर पनि हो,’ थारू कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरीले भने, ‘वर्ष दिनका लागि नयाँ नीति नियम बनाउने, त्यसको कार्यान्वयनका लागि प्रतिज्ञा गर्ने, नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरिको कामको समीक्षा पनि हुन्छ ।’ थारू समुदायमा घर लिपपोत गर्ने जाँड, ढिक्री, रोटी तयार पार्ने काम हुन्छ र माघीका लागि मासुको जोहो गरिन्छ ।

महिलाहरू रोटी पकाउन लाग्छन् । उनीहरू पिठो र दुनाटपरीको तयारीमा पनि लाग्छन् । माघी पर्व मनाउन एक महिना अगाडिदेखि नै तयारी सुरु हुन्छ । खानाका परिकारहरू पकाउन लागि काठ, दाउराको जोहो गरिन्छ र अनादिको चामलको गुलियो जाँड, रक्सी बनाइन्छ । वनबाट मालु र सालको पात टिपेर ल्याइन्छ भने तोरीको खाने तेल पेल्ने काम पनि हुन्छ ।

प्रतिक्रिया