आधा योजना सिध्याउन हतारो हुने

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको चौथौ नगरसभा आइतबार उदघाटन भएको छ । यो सभाले नगरले गरेका विकास निर्माणका कामको समीक्षा गर्ने बताइएको छ ।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार फिदिम नगरपालिमा अहिले २ सय ६० योजना सञ्चालनमा छन्् । तीमध्ये २९ योजना सम्पन्न भइसकेका छन्् । ३७ योजना सम्झौता भइ काम थालनी भएका छन् भने १ सय ९४ योजनामा हालसम्म सम्झौता हुन सकेको छैन । अहिलेसम्म सम्झौता हुन नसेका योजना सम्पन्न गर्न हतारो पर्ने भएको छ ।

नगरको पछिल्लो प्रगतिलाई हेर्ने हो भने सन्तोष मान्नुपर्ने अवस्था छैन । चालु आर्थिक वर्षको सातौँ महिना सुरु हुँदासम्म आधा भन्दा धेरै योजना सुरु नै छैनन् । चालु आर्थिक वर्षको बाँकी पाँच महिनामा सबै योजना पूरा गर्नु पर्ने हुन्छ । चालु अर्थिक वर्षको अन्त्यतिर धमाधम योजना सक्ने गरी काम गर्ने चलन यो वर्ष पनि रहने सम्भावना देखिएको छ ।

फिदिम नगरपालिकाको प्रस्तुत प्रतिवेदनका आधारमा वडागत योजना हेर्ने हो भने फिदिम नगरपालिका–४ सबैभन्दा अघि देखिएको छ । ४ नम्बरमा भएका ५० योजना मध्ये १३ वटा योजना पूरा भएका छन् ।

वडा नम्बर ५ मा पनि काम भइरहेको छ । अन्य वडामा त्यो भन्दा कम मात्रै काम भएको छ । सबैभन्दा कम काम ९ र १० नम्बर वडामा भएको तथ्यांकले देखाएको छ । ती वडामा एउटा पनि योजना पूरा भएका छैनन् । ९ नम्बर वडामा भएका २२ योजनामध्ये कुनैमा पनि सम्झौतासम्म भएको छैन ।

प्रतिक्रिया