डा. केसी अस्पताल भर्ना

इलाम । १६औँ अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि अस्पताल भर्ना गरिएको छ ।

इलाम अस्पतालमा सोमबार बिहान सारिएका केसीको स्वास्थ्य स्थिति जानकारी गराउँदै मेडिकल सुपरिटेन्डेन्ट बिजेन्द्रकृष्ण शाहले तत्काल उनलाई सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने अवस्था रहेको बताए ।

डा. केसीले भने स्वास्थ्य स्थिति जे भए पनि आफू इलाममा नै बस्ने अडान लिएका छन् । स्वास्थ्यमा अप्ठेरो स्थिति आए पनि इलाम छाडेर नजाने र १५औँ अनसनका क्रममा भएका सम्झौता पालना हुनुपर्ने अडानमा छन् ।

उपचारमा संलग्न इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिजेन्द्र कृष्ण शाहका अनुसार केसीको घाँटीमा समस्या छ भने फोक्सोमा इन्फेक्सन र रोग प्रतिरोधात्मक शक्ति कम भएको छ । उनलाई तत्काल आइसियुमा राखेर एक्सपर्ट मेनेज्मेन्टको व्यवस्था हुनुपर्ने शाहले बताए ।

‘तत्कालका लागि प्राथमिक उपचारको व्यवस्था गरेका छौँ,’ उनले भने ‘अवस्था जटिल भए केही गर्न सकिन्न ।’ अस्वभाविकरूपमा मुटुको धड्कन बढ्नुका साथै निमोनिया पनि देखिएपछि उनलाई सोमबार बिहान इलाम अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया