मोदीलाई पराजित गर्न विपक्षीको गठबन्धन

नयाँ दिल्ली । आउँदो मे महिनामा हुन गइरहेको राष्ट्रिय निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीलाई पराजित गर्नका लागि उत्तरी भारतको उत्तर प्रदेशका दुई शत्रु राजनीतिक दलले गठबन्धन बनाउने ती दलका नेताहरूले बताएका छन्।

उत्तर प्रदेशको काम गर्ने वर्गमा उच्च प्रभाव रहेको र पूर्वमुख्य मन्त्रीहरूले नेतृत्व गरेको समाजवादी पार्टी (एसपी) र बहुजन समाज पार्टी (बिएसपी)ले मोदीको भाजपाविरुद्ध गठबन्धन बनाएर आसन्न राष्ट्रिय निर्वाचनमा प्रतिस्पर्धा गर्ने ती दलले बताएका छन्।

उत्तर प्रदेश भारतको सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश हो र संसद्मा रहने सदस्यको छ भागमध्ये यस प्रदेशले एक भाग ओगट्न गरेको छ। यो संख्या भारतको कुनै पनि एक्लो प्रदेशले आगटेको भारतको केन्द्रीय संसद्को सिटको सबैभन्दा धेरै हो। सन् १९९० को दशकका केही अपवादबाहेक उत्तर प्रदेशमा सबैभन्दा धेरै सिट जित्ने दललाई केन्द्रीय सरकार बनाउन सहज हुँदै आएको कारण पनि यो प्रदेशको नतिजालाई भारतको राजनीतिमा अत्यन्तै महत्वका साथ हेरिन्छ।

उत्तर प्रदेशमा रहेको ८० सिटमध्ये एसपी र बिएसपी ३८–३८ सिटमा मनोनयन दर्ता गर्ने एसपीका प्रमुख अखिलेस यादवसँगै शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बिएसपीकी प्रमुख मायावती दासले बताइन्। उनीहरूले बाँकी रहेको चार सिटमा भने प्रतिस्पर्धा गर्ने छैनन्। जसमध्ये दुई सिटमा भारतको केन्द्रीय विपक्षी दल कंग्रेस आईले लिँदै आएको छ।

बेलायती साम्राज्यवादबाट सन् १९४७ मा स्वतन्त्र भएदेखि कंग्रेसले लगभग चार दशक भारतको सत्ता सञ्चालन गरेको छ। कंग्रेसे पनि राष्ट्रिय निर्वाचनअघि अन्य दलसँग महागठबन्धन बनाउने प्रयास जारी राखेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। कंग्रेसले पनि गठबन्धन निर्माणको तयारी गरिरहेको भए पनि बिएसपी–एसपी गठबन्धनमा भने कंग्रेस सहभागी नहुने मायावतीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘एसपीसँगको गठबन्धनकै आधारमा भाजपालाई शक्तिमा आउनबाट निश्चिय पनि हामी रोक्न सफल हुन्छौं,’ बिएसपी प्रमुख मायावती दासले पत्रकार सम्मेलनका क्रममा बताइन्।

‘उनीहरूले जित्दै आएको दुई सिट हामी कंग्रेसलाई दिन सक्छौं,’ कंग्रेस अध्यक्ष राहुल गान्धी र उनकी आमा सोनिया गान्धीले विगतमा प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्रलाई उद्धृत गर्दै एसपीका प्रमुख अखिलेस यादवले शुक्रबार एनडिटिभीसँग बताएका थिए। भाजपालाई परास्त गर्नका लागि विशाल गठबन्धन बनाउनका लागि पहल गरिरहेकी भारतको उत्तरी प्रदेश पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री एवं त्रिनामुल कंग्रेस पार्टीकी प्रमुख ममता बेनर्जीले उत्तर प्रदेशमा बिएसपी र एसपीबीच बनेको गठबन्धनको ट्विटमार्फत् स्वागत गरेकी छन्। ‘आसन्न लोकसभा निर्वाचनका लागि एसपी र बिएसपीले गठबन्धन बनाएकोमा म त्यसलाई स्वागत गर्न चाहन्छु,’ बेनर्जीले गरेको ट्विट उल्लेख गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

‘हाम्रा स्वतन्त्रता योद्धाहरूले लडेको इन्डियाको सोचका लागि गर्व महसुस गरौं। साँच्चिकैको अर्थमा हाम्रा जनता र हाम्रा संस्थाहरू स्वतन्त्र रहन आवश्यक छ,’ बेनर्जीको ट्विटमा उल्लेख गरिएको छ। सन् २०१४ मा भारतको केन्द्रीय सत्तामा आएदेखि पहिलो पटक गत महिना तीनवटा राज्यमा प्रधानमन्त्री मोदीको दल पराजित भएपछि भारतका विपक्षीहरूमा भाजपालाई परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको रोयटर्सले उल्लेख गरेको छ।

मार्च २०१७ मा उत्तर प्रदेशमा भएको विधानसभा निर्वाचनमा भाजपा, एसपी र बिएसपीले बेग्लाबेग्लै प्रतिस्पर्धा गरेका थिए। सो निर्वाचनमा भाजपाले सहजै जित निकालेको थियो तर राजनीतिक विश्लेषकहरूले भने बिएसपी–एसपी गठबन्धनले उत्तर प्रदेशको समेत नेतृत्व गरिरहेको भाजपालाई आसन्न निर्वाचनमा अप्ठेरो हुनसक्ने बताएका छन्।

२०१७ को सो निर्वाचनका बेला भाजपा एक्लैले ४० प्रतिशत मत ल्याएको थियो भने बिएसपी र एसपीको मत जोड्ने हो भने ४४ प्रतिशत मत उनीहरूले प्राप्त गरेका थिए। यद्यपि विश्वका ठूला प्रजातन्त्र भएका देशमा मतदानमा जाँदा मत आँकडा परिवर्तन हुनसक्छ। बिएसपी र एसपीबीच गठबन्धन बने पनि भाजपा भने उत्तर प्रदेशमा आफूले जित्नेमा ढुक्क देखिएको रोयटर्सले जनाएको छ। ‘लोकसभाका लागि उत्तर प्रदेश राज्यको ८० सिटमध्ये ७४ सिटमा हामीले जित्ने छौं,’ शुक्रबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले बताएका थिए।

उच्च रणनीतिक महत्वको भए पनि र स्वतन्त्रतादेखि विभिन्न दलले सरकार सञ्चालन गरिरहेको भए पनि उत्तर प्रदेश भारतको पिछडिएको राज्यमध्ये एक हो। उत्तर प्रदेश, अपराधिक दर र लाइसेन्सबिना नै बन्दुक प्रयोग गर्ने राज्यका रूपमा चिनिन्छ। त्यसैगरी यस प्रदेशको साक्षरता दर औसत दरभन्दा कम छ र मानव विकास सुचांकमा पनि यो प्रदेश कमजोर रहेको छ भने बढ्दो जनसंख्या पनि उत्तर प्रदेशको टाउको दुखाईको विषय हो।

प्रतिक्रिया