सत्तरी घरधुरीलाई खानेपानीको सास्ती

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ माथिल्लो उनापानीका ७० घरधुरीका वासिन्दालाई आजकल खानेपानीको लागि दिनभर काम छोडेर खानेपानीको जोहो गर्नमा नै समय विताउनु परेको छ । खानेपानीको मुहान नजिक नहुँदा दिनभरी खानेपानीको व्यवस्थापनको लागि एक जना घरका सदस्यले लागि रहनु परेको छ ।

खानेपानी ल्याउनको लागि १ घण्टाको दुरीमा रहेको तल्लो उनापानीको खोलाबाट माथिल्लो उनापानी पुर्याउनु पर्ने बाध्यता रहेको छ । दिनभर एक जना खानेपानी ओसार्नको लागि घरमा नै बस्नु परेको स्थानिय चुनर्बु फडेराले बताउनु भयो । गत वर्ष सामुदायिक विकास कार्यक्रमले १ दिन टाढापर्ने स्याउले भन्ने स्थानबाट खानेपानीको निर्माण गरेको भएता पनि मुहानमा वनस्पतीको पात र फोहोरले गर्दा मुहान थुनिने समस्याको कारणखानेपानीको आपुर्ती राम्रो नहुँदा यस्तो समस्या भोग्दै आएका छन् ।

गाउँमा खानेपानीको धारा त बन्यो तर मुहानको ट्याँकी छोप्नको लागि जाली लगायत अन्य सामाग्री नहुँदा रुखका पातले पाईपलाई बन्द गरीदिने समस्या हुँदा उपभोक्तालाई पानी आपुर्तीमा समस्या भएको अर्का स्थानिय गोले फडेराले बताए । हरेक दिन एक जना पानीको मुहान सफा गर्नको लागि मुहान तर्फ जानु पर्ने बाध्यता माथिल्लो उनापानीका वासिन्दाको लागि दिनचर्या नै बन्ने गरेको छ ।

जंगलको भिरालो बाटोमा पानीको मुहान सफा गर्न जाँदा वन्यजन्तुको डर हुने गरेको स्थानियको भनाई छ । “एक्लै जान पनि समस्या रहेको छ, भिरको बाटोमा लडिने अनि हिँड्नको लागि ढिलो भएमा घर नपुगिने अवस्थाले दुई देखी तिन जनाको समूहमा पानीको मुहान सफा गर्नजाने गरेको भएता पनि हरेक दिन सफा गर्नको लागि साह्रै कठिन भएको स्थानिय चुनर्बु फडेराले बताए ।

खानेपानी, पशुवस्तुको लागि पानी नहुँदा पशुवस्तुलाई १ घण्टा लगाएर खानेपानीको भएको खोलामा पुर्याएर ल्याउन अझ कठिन भएको छ । पशुवस्तुको चरन क्षेत्रबाट खोलामा पानी खुवाउनको लागि अझ समस्या छ, एक जना खानेपानी ओसार्ने अर्को जना पशुवस्तुको लागि पानी खुवाउनु पर्ने अवस्था रहेको छ ।

थोरै घर पपरिवार भएको घरको लागि त खानेपानीको व्यवस्था गर्न अझ कठिन रहेको पाईएको छ । सुरुमा सामुदायिक विकास कार्यक्रमले फलामे जि.आई. पाईप प्रयोग गर्ने भनेको भएता पनि पछि रकम अपुगको कारण प्लास्टिकको पाईप प्रयोग गरी भिरको बाटोबाट र खुला पाईप ल्याईएको छ । कुनै दिन वनमा आगलागि भएमा त्यो पाईप पनि गुमाउनु पर्ने अवस्था रहेको छ,” स्थानिय गोले फडेराले भने ।

कपडा धुनको लागि आधि घण्टाको दुरीमा रहेको तल्लो उनापानीको तातोपानी भएको खोलामा गएर धुन्छौं, फर्कँदा आधि घण्टा, पानीको अभावले गर्दा व्यक्तिगत सरसफाईमा पनि संकोच अपनाउनु पर्ने अवस्था रहेकोस्थानियको भनाई रहेको छ । पानीलाई सुन जस्तो गरेर चलाउनु पर्ने अवस्था छ, फारो गरेर चलाउनु पर्ने बाध्यता रहेको स्थानियले बताउने गरेका छन् ।

“गाउँपालिकालाई र वडापालिकालाई यो समस्याको बारेमा पटकपटक ध्यानाकर्षण गराएका छौं, सकरात्मक आश्वासन आएको छ, मुहानमा सफा राख्नको लागि केही रकम व्यवस्था गर्छु, नेताहरुले भनेका छन्, स्थानिय चुनर्बुको भनाई छ ।”

प्रतिक्रिया