२० जना क्षमताको छात्राबासमा ३५ विद्यार्थी

ताप्लेजुङ । सरकारले उच्च हिमाली क्षेत्रका विद्यार्थीले शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यका साथ विशेष छात्रावृत्ति उपलब्ध गराएको ताप्लेजुङको फक्तालुङ गाउँपालिका ६ लेलेपमा रहेको सरस्वती च्यारिवुक माध्यमिक विद्यालयको छात्रावासमा वस्दै आएका विद्यार्थीलाई समस्या भएको छ ।

२० जनाको क्षमता रहेको छात्रावास भवनमा ३५ जना सम्म बस्नु पर्दा विद्यार्थीहरूलाई समस्या भएको हो । २० जनाको क्षमता रहेको छात्रावास भवनमा बस्न ९५ जनाको आवेदन परेको छ ।यहाँ अध्ययन गर्ने ३५ जना छात्राहरूलाई सरकारले हिमाली छात्रावासको सुविधा दिएको छ । उनीहरूले मासिक चार हजार नगद पाउँछन् ।

सरकारले आवासीय सुविधा पनि उपलब्ध गराउने बताएको थियो । विद्यार्थी संख्या बढी हुँदा छात्राहरूलाई वस्न समस्या भएको छ । अहिले एउटा साँघुरो कोठामा ५ देखि ७ जना सम्म वस्नुपर्ने वाध्यता छ । ‘अहिले एउटा कोठामा ७ जनासम्म वस्छौँ ।’ कक्षा १० मा अध्यानरत छात्रा किपा शेर्पाले भनिन् ‘सवैभन्दा ठुलो समस्या त खाने भाँडाहरूको छ ।’ खाना पकाउने भाँडा कम भएका कारण पालो गरेर पकाउने र पालैपालो खाने गरेको अर्का विद्यार्थी पेम्वा दिकी शेर्पाले गुनासो गरिन् ।

‘वस्नलाई त साँगुरो छ नि तर घरवाट हिँडेर आउन सकिन्दैन्’ दिकीले भनिन् ‘घरवाट आउने हो भने ३ घण्टा लाग्छ । वरु साँगुरै भएपनि वस्ने गरेका छौँ ।’ विद्यालयसँग अरू भवन नभएको र गाउँमा पनि एकै ठाउँमा राख्न सक्नेगरी भौतिक संरचना नभएकाले समस्या भएको विद्यालय प्रशाशनले वताएको छ ।

अभिभावकले छात्रावास पाउने आसमा ल्याएकाले विद्यार्थी व्यवस्थापन विद्यालयका लागि चुनौती बनेको विद्यालयका प्रधानाध्यापक राम तामाङले वताए । ‘हाम्रो छात्रावासमा भौतिक संरचनाको नै पहिलो समस्या छ ।’ प्रअ तामाङ भन्छन् ‘हामीलाई नयाँ भवन निमार्णका लागि पनि पर्याप्त जग्गा छैन् । त्यसैले पनि साँघुरो भएको हो ।’ फक्तालुङ गाउँपालिका ६ लेलेपको यो विद्यालयमा ओलाङचुङगोला, लेलेपको घुन्सा, फले, ग्याब्ला, तापेथोक, इखावु, खेजेनिम, लिंखिमदेखिका विद्यार्थी जाने गरेका छन् ।

भौगोलिक हिसावले जिल्लाकै ठूलो वडा फक्तालुङ ६, ७ र छिमेकी ५ नम्बर वडा तापेथोकमा पनि माध्यमिक विद्यालय नभएकाले यहाँ विद्यार्थीको चाप बढेको हो ।

प्रतिक्रिया