बिरामीलाई म्याद गुज्रेको स्लाइन

सर्लाही । सदरमुकाम मलंगवामा रहेको सर्लाही अस्पतालमा बिरामीलाई म्याद गुज्रेको स्लाइन दिइएको फेला परेको छ ।

पखाला लागेर उपचार गराउन अस्पताल पुगेकी मलंगवा–३ की ४५ वर्षीया उषा देवीलाई म्याद गुज्रेको आर एल स्लाइन पानी दिएको भेटिएको हो । सोमबार बिहान उपचार गराउन अस्पताल पुगेकी उषालगायत अन्य तीन जनालाई चिकित्सकले म्याद गुज्रेकै स्लाइन पानी चढाइरहेको भेटिएको छ ।

बिरामी परेपछि घरका व्यक्तिले अस्पताल पु¥याएको र पछि आफू जाँदा स्लाइन पानी म्याद गुज्रेको फेला परेको उनका छोरा साजन चौधरीले बताए । तीन महीनापहिले नै म्याद गुज्रेका स्लाइन पानी चढाएको देखेपछि आफूले त्यसलाई तुरुन्त रोक्न लगाएको उनले जानकारी दिए ।

उनले भने, ‘म्याद गुज्रेको स्लाइनको प्रयोगले आमालाई घर लग्दा ज्वरो आयो ।’ मलङ्गवामै रहेको एक निजी क्लिनिकमा आमालाई उपचार गराइएको उनले बताए । अस्पतालजस्तो संवेदनशील स्थानमा लापरवाही गर्नेलाई कानूनअनुसार कार्बाही हुनुपर्ने उनले माग गरे ।

बिरामीको चाप धैरे भएकाले सबैलाई एकैचोटि उपचार गर्न खोज्दा हतारमा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको अस्पतालका सुपरिटेण्डेण्ट वीरेन्द्रकुमार मण्डलले बताए । भण्डारमा म्याद भएका र गुज्रेका औषधि एकै ठाउँमा रहेकाले हतारमा झिक्दा म्याद गुज्रेको औषधि प्रयोग हुन पुगेको उनले जानकारी दिए । सो लापरवाही गर्नेलाई कारवाही गरिने उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया