अनिश्चितकालिन विद्यालय बन्द गर्ने चेतावनी

काठमाडौं । संघीय शिक्षा ऐनमा अस्थायी करार शिक्षकको अधिकारको सुनिश्चिता गर्नुपर्ने माग गर्दै देशभरका करिब ५ सय शक्षकले सोमबार शिक्षा तथा मानवस्रोत विकास केन्द्र घेराउ गरेका छन् ।

खुल्ला शिक्षकको नतिजा प्रकाशन भएपछि आफूहरु अयोग्य हुने भन्दै उनीहरुले सरकारको ध्यानकर्षण गराउनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्र घेराउ गरेका हुन् । केन्द्रीय समितिका अध्यक्ष हरिवंश पराजुलीले शिक्षा तथा मानवस्रोत विकास केन्द्र घेराउ गरी ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिएका छन ।

पराजुलीले नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयले करार शिक्षकलाई संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षा व्यवस्था नगरे देशभरका सामूदायिक विद्यालय अनिश्चितकालिन ठप्प पार्ने चेतावनी समेत दिए । खुल्ला शिक्षकको नतिजा प्रकाशन सँगै छुट करार अस्थायी शिक्षकलाई सरकारले अवकाश दिने तयारी गरेको छ ।

शिक्षा ऐन २०२८ खारिज भई संघीय शिक्षा ऐन आउने र संघिय शिक्षा ऐनमा करार शिक्षकको कुनै कुरा नलेखिने भएकाले करिब १३ हजार करार शिक्षकको पेसा धरापमा पर्ने भएसँगै उनीहरुले आन्दोलन सुरु गरेका हुन् । अस्थायी करार शिक्षक समितिले परीक्षामा सहभागी गराउन, रोजगारीको हक सुनिश्चित गर्नुपर्ने लगायतका मागहरु राखी नेपाल शिक्षक महासंघ केन्द्रीय कार्यालय केशरमहलमा ज्ञापन पत्र बुझाइसकेका छन् ।

समितिले आईतबार माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध ¥याली निकालेको थियो । यसैगरी पुस १७ गते बृहत् शैक्षिक अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । संघिय शिक्षा ऐनमा अस्थायी शिक्षकको अधिकारको सुनिश्चिता हुनुपर्ने माग गर्दै अस्थायी करार शिक्षक केन्द्रीय समिति आन्दोलनमा उत्रिएको छ । निर्माण गर्ने भएको संघिय शिक्षा ऐनमा करार शिक्षकको कुनै कुरा उल्लेख नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

अध्यक्ष हरिबंश पराजुलीले शिक्षक महासंघ र मन्त्रालयको वार्ताबाट समस्या हल नभए शसक्त आन्दोलन गर्ने बताएका हुन् । पराजुलीले ७७ वटै जिल्लाबाट ०७२ असोज २ पछि नियुक्ती भएका सबै करार शिक्षकलाई काठमाडौं आई आन्दोलनको तयार गर्न आह्वान् समेत गरेका छन् ।

प्रतिक्रिया