बिदेशबाट रोग लिएर फर्कन्छन् महिला

काठमाडौँ । विदेशमा २०, २१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीय महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुगेकी उनि फर्कँदा पैसा त कमाईन् तर पैसासँग रोग पनि ल्याईन् । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उनि धेरै खटिन ।

बिहान १, २ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने उनलाई बाध्यता थियो । दलालले यहाँ भनेर लगेको भन्दा धेरै समयसम्म काम गर्नुपर्ने र काम गरे अनुरूपको तलब नपाउँदा उनि स्वदेश फर्किन पर्यो । उनि भन्छिन्, “बैंकमा दुईचार पैसा बचत भएर मात्रै के गर्नु र ? अनेक रोगले गर्दा अब काम गर्न नसक्ने भइहालेँ ।

उनि जस्तै ३५ वर्षीय अर्की महिला पनि विदेशमा रोजगारीका लागि जाँदा शारीरिक समस्या लिएर फर्कनु पर्यो । दैनिक २१, २२ घण्टासम्म काम गर्दा र आरामको समय नहुँदा उनि केही महीना पहिले स्वदेश फर्किएकी थिइन् । एउटा परिवारका लागि काम गर्न उनले दिनमा दुई, तीन घण्टाबाहेक फुर्सद पाइनन् ।

उनि आफू काम गरिरहेको परिवारका लागि खाना पकाउने, शौचालय सफा गर्ने, बच्चाको स्याहार गर्ने लगायतका काम गर्न पर्थ्यो । लामो समयसम्म काम गर्दा ढाड दुख्ने लगायतका समस्या आउँदा उनि स्वदेश फर्कन बाध्य भयो । उनले भनिन्, “अहिले काठमाडौँमा नै सानो व्यवसाय गरिरहेकी छु ।

घरेलु कामदारका रूपमा विदेश जानु धेरै नेपाली महिलाका लागि रहरभन्दा पनि बाध्यता बनेको छ । सरकारले महिलाका लागि खाडीमुलुक जान रोक लगाए पनि लागू भएको छैन । कतिपय महिलाले अनेक हैरानी सहेर पैसा पनि नकमाइ फर्किएका छन् । कतिपय भने एक दिनमा धेरै घण्टा काम गर्नुपर्ने र आराम गर्न समय नपाउँदा विभिन्न रोगले पीडित बनेका छन् ।

अर्की ३७ वर्षीया महिलालाई सुटकेस बोकेर भर्याङ उक्लने ओलर्ने गर्दा धेरै स्वास्थ्य समस्या आयो । श्रीमानको निधनपछि घरको आर्थिक भार बेहोर्न पर्ने बाध्यता आइलाग्यो र उनि वैदेशिक रोजगारीमा जान पर्यो । कुवेत जान हिँडेको मान्छे विमान चढेपछि उनले आफू ओमन जान लागेको थाहा पाईन् । दलालले उनलाई झुक्याएर कतार भन्दै ओमन पुर्यायो । उनि जुन घरमा काम गर्थिन् त्यो घरमा दुई घण्टाभन्दा बढी आराम गर्न पाउदिन थिइन् । “उतै मर्छु भन्ने लागेको थियो भाग्यले बाँचे”, उनि भन्छिन् ।

बिहान सबेरैदेखि राति अबेरसम्म पनि उनि घरायसी काममा नै व्यस्त हुन्थीन् । भाँडा माझ्दा, लुगा धुँदा र मिलाउँदा धेरै थाकेपछि उनलाई स्वदेश फर्कन मन लागेको थियो । बेचिएर त्यहाँ पुगेकी महिलाले चाहेर पनि स्वदेश फर्कन नमिल्ने रहेछ । आफू काम गरिरहेको घरमा बिरामी हुँदासमेत कामबाट विश्राम र उपचार दुवै कुरा पाइनन् । “चार दिनसम्म बिरामी पर्दा कसैले वास्ता गरेनन्”, उनले भनिन्, “म नेपाल फर्किएर नाङ्लो पसल खोल्छु भन्ने सोचाइ आयो र अहिले त्यही गरिरहेकी छु ।

वैदेशिक रोजगारीबाट फर्किएका महिलाका संस्था पौरखीका अध्यक्ष मञ्जु गुरुङ खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा पुगेका धेरै महिला फर्कँदा रोगी भएर फर्किने गरेको बताईन् । लामो समयसम्म उभिएर काम गर्दा महिलामा पाठेघर खस्ने, छालाको एलर्जी, मिर्गौलाको समस्या देखिएको छ ।

कामको अवधिमा पर्याप्त मात्रामा पानी नपाउने र पौष्टिक आहारा नपाउँदा महिला कामदार कमजोर शरीर लिएर फर्कनुपरेको हो । कतिपय महिला यौन हिंसामा समेत परेका छन् । काम गर्ने घरधनी वा आफन्तले बलात्कार गर्दा गर्भवती भएरसमेत कतिपय महिला फर्किएका छन् । पौरखीले घरमा फर्कन नसक्ने महिलालाई केही समय आश्रय दिएर तालीम दिने गरेको छ ।

स्वास्थ्य अवस्था कमजोर भएर फर्किएका महिलाको उपचारको सहयोग गरिरहेको उनले बताईन् । नेपालले नीतिगतरूपमा खाडीमा महिला कामदार रोक्ने तर छिमेकी देशको बाटो हुँदै महिला कामदार जाने क्रम नरोकिँदा समस्या बढेको उहाँको अनुभव छ । उनले भनिन्, “जुनसुकै देशमा गएर काम गर्न खुला गरेर त्यहाँ भएका समस्याको समाधान खोज्नुपर्छ ।

प्रतिक्रिया