शनिबार काठमाडौंको यगम्बर पार्टी प्यालेसमा आयोजित नेका महासमितिको बैठकमा सहभागी हुँदै नेपाली काँगे्रसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरु ।
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीका शीर्ष नेतामा भन्दा पनि तल्लो तहमा एकता हुनुपर्ने बताएका छन् । पार्टीको महासमितिको बैठकको उद्घाटन गर्दै शीर्ष नेताहरूले सरकारको चर्को आलोचना गर्दै पार्टीलाई एकताबद्ध बनाउन सबैले आ–आफ्नो स्वार्थ त्यागेर अगाडि आउनुपर्ने बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले शेरबहादुर देउवाले आफ्नो विरोध गर्ने छुट नेताहरूलाई रहेको बताएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि बोल्ने हिम्मत गर्न नेताहरूलाई आग्रह गरेका छन् । पार्टी महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापति देउवाले सबैलाई मिलाएर लैजाने बताए । आफ्नो विरोध गर्ने छुट रहेको र गल्ती भएको भए सुधार गर्न पनि तयार रहेको भन्दै उनले भने, ‘तर, ओलीको खिलापमा माधव नेपालले जत्ति हिम्मत त गर्नुस् ।’ आफ्नो मात्र आलोचना गरेको भन्दै उनले भने, ‘म किन ठीक छैन ? उसो भए ओली ठीक छ त ?’
वर्तमान सरकारको चर्को आलोचना गर्दै १० महिनाको अवधिमै सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप लगाए । उनले दुई तिहाई बहुमतको सरकार आफ्नो दायित्वबाट पछि हटेको आरोप पनि लगाए । सरकारले संविधान संशोधन गरेर सबैलाई संविधानप्रति अपनत्व जगाउनुपर्नेमा त्यसो नगरेको, शान्ति सुरक्षा कायम गर्न नसकेको, संघीयतालाई संस्थागत गर्न नसकेको तथा महँगी र भ्रष्टाचारले जनताको ढाड सेकेको बताए ।
देउवाले निर्मलाका हत्यारालाई पत्ता लगाएर कार्वाही गर्नुको सट्टा पोष्टरसमेत च्यातेर फालेबाट सरकार नै हत्यारालाई बचाउन खोजेको प्रष्ट भएको आरोप पनि लगाए । सभापति देउवाले लिखित मन्तब्य वाचन गरिहँदा कार्यकर्ताहरू भने उनीप्रति खासै ध्यान निदिई आ–आफ्नै गफमा ब्यस्त देखिन्थे । देउवाले आफूतिर कार्यकर्ताको ध्यानाकर्षण गर्न बेला बेलामा ‘यता सुन्नुस् त, एक छिन त सुन्नुन’ भन्दै हप्काएका थिए ।
उनले मञ्चमा रहेका प्रकाशशरण महतलाई आफ्नो ठाउँमा बसेर कुरा सुन्न भन्दै हप्काएका समेत थिए । देउवाले कांग्रेसमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी छोडेको इतिहास स्मरण गर्दै अब कसैले पनि पार्टी छोड्नु नपर्ने बताए । उनले यसो भनिरहँदा कार्यकर्ताहरूले भने ताली बजाएर हुटिङ गरेका थिए । सरकारको आलोचना पछि देउवाले आफ्नै कमिकमजोरी समेत स्वीकार गरे । उनले भने, ‘कांग्रेसमा विधि मिचिँदा हामीले पटक–पटक चुनाव हारेका छौं । तर, अब महासमिति पछि कांग्रेस एक ढिक्का भएर अघि बढ्छ । हामी सरकारको सशक्त विरोध गर्छौं ।’ उनले २०४६ सालयताका निर्वाचनहरूमा कांग्रेस एक पटक जित्ने र अर्कोपटक हार्ने गरेको फेहरिस्त प्रस्तुत गर्दै आगामी निर्वाचन भने जित्ने दाबी गरे ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारको काम गर्ने ढंगै नभएको टिप्पणी गरेका छन् । उनले काम गर्न नदिएको आरोप कांग्रेसलाई लगाएर सरकार जिम्मेवारीबाट उम्कन खोजेको आरोप लगाए । उनले पार्टीभित्र एकता देखाउनका लागि मात्रै नभई यथार्थमा पार्टी एकता हुनुपर्ने बताएका छन् । उपसभापति विजय कुमार गच्छदारले हात उठाएर एकताको संदेश दिन गरेको आव्हान प्रति लक्षीत गर्दै उनले हात उठाएर मात्रै एकतावद्ध नहुने उल्लेख गरे । एकताको बैज्ञानिक आधार खडा गरी ठोस एकता हुनुपर्नेमा नेता पौडेलले जोड दिए ।
युवा अवस्था देखि सभापति देउवा र आफ्नो एउटै लक्ष्य र संघर्ष गरेका मान्छेका बीचमा मेल किन नहुने भन्दै उनले महासमिति सदस्यहरूलाई प्रश्न गरे, ‘फर्केर जिल्लामा जाँदा एक भएर जानुहुन्छ कि हुदैन ? फेरि जिल्लामा गएर छड्के दाउ खेल्नु हुन्छ कि हुदैन?’ उद्घाटन समारोहमा बोल्ने उपसभापति विमलेन्द्र निधि, महामन्त्री शंशाक कोइराला, विजयकुमार गच्छदार लगायतका नेताहरूले पनि पार्टीलाई एकतावद्ध बनाएर लैजान यो महासमितिले संकल्प गर्नुपर्ने बताएका छन् ।
करिव १७ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको महासमितिमा शनिवार नै चार वटा प्रतिवेदन पेश भएका छन् । प्रतिवेदनमाथी आइतवारबाट शुरु हुने बन्दसत्रमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिक्रिया