एचआइभी संक्रमणको दर घट्दै

काठमाडौ । दशकअघि भयावह भनिएको एचआइभी संक्रमण दरमा क्रमशः न्यूनीकरण हुँदै आएको सरकारी तथ्यांकले देखाएको छ ।

सामाजिक सचेतना, उपचार, कण्डम वितरण, दुव्र्यसन न्यूनीकरण, स्वास्थ्य परीक्षण र रोकथामका कार्यक्रमलाई तीव्रता दिएकाले रोगको सक्रमण घटेको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका अनुसार एक दशकको प्रयासमा रोगको सक्रमण दर घटेको र रोगप्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ ।

‘पहिले एचआइभी लागेका मान्छेलाई छिछी र दुरदुरको अवस्था थियो, अहिले सामान्य रोगका रूपमा ग्रहण गर्न थालिनु सकारात्मक हो’, केन्द्रका सूचना अधिकृत वीरबहादुर रावलले भने, ‘अब एचआइभी मधुमेह र उच्च रक्तचाप जस्तै सामान्य भइसकेको छ ।’

सन् २००५ मा नेपालमा सङ्क्रमण दर प्रतिएक हजार पाँच रहेकामा अहिले घटेर प्रतिएक हजार दुईमा झरेको छ । यस्तै लागुपदार्थ दुव्र्यसनी भएकाहरूको अध्ययनमा ६८ प्रतिशतमा संक्रमण थियो अहिले झरेर ८ दशमलव ५ प्रतिशतमा झर्नु महत्वपूर्ण उपलब्धि हो भन्छन्, रावल । यौनजन्य क्रियाकलापबाट भने ६ प्रतिशतबाट घटेर १ प्रतिशत संक्रमण दर रहेको जनाइएको छ ।

सरकारी तथ्यांकअनुसार हाल नेपालमा २१ हजार १ सय ४८ जनामा एचआइभी संक्रमण भएको पाइएको छ । नेपालमा ३१ हजार संक्रमण रहेको अनुमान छ । नखुलेका १० हजारमध्ये सरकारले सन् २०२१ सम्ममा सात हजारलाई खोज्दै छ । सरकारले अहिले संक्रमितको पहिचान गरेर स्वास्थ्य संस्थामा आउने वातावरणका लागि कार्यक्रम सञ्चालन गरेको केन्द्रले जनाएको छ ।

सन् २०१६ देखि २०२१ सम्मका लागि राष्ट्रिय एचआइभी रणनीति अघि सारेको छ । सो रणनीतिअनुसार ३१ हजार २० संक्रमित पहिचान गर्नै लक्ष्य हो । सन् २०२० सम्म २८ हजार पत्ता लगाउने योजना छ । केन्द्रका रावलका अनुसार हालसम्म २१ हजार १४८ पत्ता लागेको र २५ हजारलाई औषधि खुवाउने लक्ष्य रहेकामा १६ हजारलाई औषधि खुवाइसकिएको छ ।

योजनाअनुसार २३ हजारलाई भाइरस कति छ भनेर जाँच गर्ने लक्ष्यमा सात हजार ५०० को परीक्षण भएको छ । पछिल्लो समयमा सङ्क्रमित खुल्न थालेकाले पनि न्यूनीकरणमा सहयोग पुगेको छ । गत वर्ष सरकारले चार लाखलाई परीक्षण गर्दा एक हजार ७ सय ९७ जनालाई एचआइभी देखिएको छ ।

यस्तै लागुपदार्थ दुव्र्यसनीलाई रोगको सङ्क्रमण कम गर्न सुई साटासाट कार्यक्रमसमेत सरकारले चलाएको थियो । एउटै सुई बारम्बार प्रयोग हुनेक्रम रोक्नका लागि शुरु भएको कार्यक्रमअन्तर्गत सात लाख सुई साटिएको छ । समयमै जानकारी भएमा र स्वास्थ्य संस्था पुगेमा आमालाई एचआइभी भए पनि गर्भमा रहेको बच्चामा रोग नलाग्नेसमेत रावलले बताए ।

प्रतिक्रिया