कुशल र सनितलाई स्वर्ण

काठमाडौं । कुशल न्यौपाने र सनित राई १० औं पूर्णमान बज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत साउन्ड टेबलटेनिसमा स्वर्ण जितेका छन् ।

बुधबार पुरुष सिंगल्स फाइनलमा कुशलले छत्रबहादुर तामाङलाई ११–८ र ११–९ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको महिलामा सनितले सचिता पाण्डेलाई ११–८ र ११–९ को सीधा सेटमा हराइन् ।

पुरुष सिंगल्समा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र प्रदीप रोका, एपीएफका मणिकुमार लामा, शिवसुन्दर गोथे र अमरलाल मल्ल, काठमाडौंका चन्दन शाही, ललितपुरका सुनील महर्जन तथा टाइम्स इन्टरनेसनलका नारायण घिमिरे क्वार्टर फाइनलमा पुगे ।

महिला सिंगल्समा प्रहरीकी नविता श्रेष्ठ र एलिना महर्जन, एपिएफकी अनिता महर्जन, सेलिशा खड्गी र सिक्का सुवाल, सीसीआरसीका दीक्षा तामाङ र सोनु थापा मगर तथा टाइम्सकी रविना महर्जनले क्वार्टर फाइनल यात्रा तय गरे ।

मिडियातर्फ पुरुष सिंगल्समा एनटिभीका मनोहरी थापा पहिलो भए । उनले नेपाल समाचारपत्रका रकिन श्रेष्ठलाई ११–२ र ११–५ ले पाखा लगाए । उक्त स्पर्धाको महिला उपाधि भिडन्तमा बिबिसीकी सिर्जना श्रेष्ठले एभिन्युजकी सरिता श्रेष्ठलाई ११–२ र ११–३ ले पन्छ्याउँदै शीर्ष स्थान हात पारिन् ।

प्रतिक्रिया