सेमेस्टर प्रणाली सञ्चालन गर्ने क्याम्पसलाई रकम

काठमाडौं । सेमेस्टर प्रणालीबारे आलोचना खेप्दै आएको त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीलाई अब प्रभावकारी रूपमा सञ्चालन गर्ने भएको छ ।

सेमेस्टर प्रणालीबारे  शुरुमा उपत्यकामा शुरु गर्दा नै पाठ्यक्रमको विकास, भौतिक पूर्वाधार अभावले संचालन गरेको भन्दै आलोचना भएको त्रिविले अहिले भने प्रभावकारी रूपमा संचालन गर्ने तयारी गरेको हो ।

स्नातकोत्तर तहमा सेमेष्टर शुरु गर्दा विद्यार्थी संगठनले विरोध गरेका थिए । अब स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीलाई राम्रोसँग सञ्चालन गर्नका लागि क्याम्पसलाई अनुदान दिन थालेको हो ।

त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्राडा ऋदीशकुमार पोखरेलले उक्त प्रणाली व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि क्याम्पसलाई प्रोत्साहन दिन थालिएको बताए । त्रिविले भौतिक पूर्वाधारविना स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली सञ्चालन गरेकाले आलोचना हुँदै आएको थियो ।

स्नातकोत्तर तहमा विसं २०७१ बाट केन्द्रीय क्याम्पसमा र विसं २०७२ बाट उपत्यकाका आंगिक क्याम्पसमा उक्त प्रणाली शुरु गरेको त्रिविले यस वर्षदेखि देशभरि नै लागू गरेको छ । सेमेस्टर प्रणाली सञ्चालन भए पनि शैक्षिक क्यालेण्डरअनुसार समयमा पढाइ, परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित हुने गरेको छैन ।

त्रिविले ‘उच्च शिक्षा सुधार परियोजना’मार्फत सेमेस्टर प्रणालीलाई प्रभावकारीरूपमा सञ्चालन गर्ने भएको हो । कार्यकारी प्रमुख पोखरेलले प्राध्यापकलाई तालिमदेखि भौतिक पूर्वाधारसम्मका लागि हरेक वर्ष सेमेस्टर पढाउने आंगिक क्याम्पसलाई रु एक लाखदेखि रु १५ लाखसम्म उपलब्ध गराउने जानकारी दिए ।

यस्तै त्रिविले सेमेस्टर प्रणाली सञ्चालन गर्ने डीन कार्यालयलाई रु चार लाख, प्रत्येक क्याम्पसलाई रु एक लाख ५० हजार र प्रत्येक कार्यक्रमका लागि रु पाँच लाख उपलब्ध गराउनेछ । यस्तै विज्ञान संकाय पढाउने क्याम्पसलाई प्रतिवर्ष रु तीन लाख र प्रतिसेमेस्टर रु १५ लाख उपलब्ध गराउने योजनाका कार्यकारी निर्देशक पोखरेलले जानकारी गराए ।

शुरुमा त्रिविले विसं २०३० मा शुरु गरेको मेस्टर प्रणाली २०३७ सम्म चलेको थियो । उच्च शिक्षा सुधार परियोजना प्रमुख रामचन्द्र पोखरेलले उक्त र प्रणाली सञ्चालन गर्दा कुनै समस्या नआवस् भनेर प्रोत्साहनस्वरूप अनुदान दिएको जानकारी गराए ।

उनका अनुसार काठमाडौँ उपत्यकाका आङ्गिक क्याम्पसलाई भने अनुदान दिन थालिसकेको छ । विश्वविद्यालय अनुदान आयोगले भने स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्ने सामुदायिक क्याम्पसलाई पनि अनुदान दिने भएको छ ।

आयोगका प्रशासकीय अधिकृत कपिल रिसालले सेमेस्टर प्रणाली सञ्चालन गर्ने सामुदायिक क्याम्पसलाई पहिलो पटक अनुदानस्वरूप कार्यक्रम हेरेर रु पाँच लाखदेखि रु १५ लाखसम्म दिइने जानकारी गराए ।

आयोगले अनुदानका लागि सेमेस्टर प्रणाली सञ्चालन गर्ने क्याम्पसको प्रस्ताव माग गरेको छ । ‘हामीले सेमेस्टर प्रणाली सञ्चालन गर्ने सामुदायिक क्याम्पसलाई कुनकुन कार्यक्रम सञ्चालन गरेका छौ भनेर प्रस्ताव माग गरेका छौ’, उनले भने, ‘प्रस्ताव आएका क्याम्पसको मूल्याङ्कन समितिबाट छानबिन गरेर चाँडै नै अनुदान उपलब्ध गराउँछौँ ।’

अहिलेसम्म ६५ वटा सामुदायिक क्याम्पसले आवेदन दिएको उनले जानकारी गराए । आयोगले १२२ सेमेस्टर कार्यक्रमलाई अनुदान दिने भएको छ ।

प्रतिक्रिया