कफीको उत्पादन तथा निर्यात स्थिति

झण्डै ८० वर्ष पहिले गुल्मी जिल्लाबाट प्रवेश गरेको प्रमुख नगदे बालीका रूपमा रहेको कफीले पनि अहिले आएर व्यावसायिक रूप लिन थालिसकेको छ । यस्ता प्रकारका नगदे बालीले विदेशी मुद्रा आर्जन तथा आयात प्रतिस्थापन गरी आर्थिक विकासमा थप टेवा पुग्न जानेछ ।

ब्राजिल विश्वको सबैभन्दा बढी कफी उत्पादन गर्ने देश हो, भने अमेरिका सबैभन्दा बढी खपत गर्ने देश हो । संसारको कुल कफी निर्यात देशहरूको प्रतिवेदनलाई अवलोकन गर्दा विश्वमा सन् २०१५ सेप्टेम्बरसम्म एक वर्षमा ११ करोड ७ लाख ४६ हजार केजी ( ६० केजी ब्याग) कफी ४३ भन्दाबढी देशले निर्यात गरेको देखिन्छ, भने यसै अवधिमा युरोपियन युनियनलगायत अन्य जापान, नर्बे, रुस, स्विट्जरल्यान्ड, टर्की र अमेरिकाले १० करोड १० लाख ४३ हजार केजी ( ६० केजी ब्याग) आयात गरेको देखिन्छ । पछिल्ला दिनमा कफीको विश्व बजारमा नेपाल पनि प्रवेश गरेको छ । विश्व बजारमा प्रवेशसँगै नेपाल पनि कफीको उपभोग र खेती वृद्धि हुन पुगेको हो ।

अमेरिका, बेलायत, अस्ट्रेलिया र जापानले समेत नेपाली कफीको माग गर्न थालेका छन् । विश्वमा कफीको जाति र प्रजाति गरी ७० भन्दा बढी रहे तापनि अरबिका, सेबस्टा, लाइबेरीका र उक्सेल्सा जातका कफी आर्थिक दृष्टिले अति उपयुक्त मानिएका मध्ये नेपालमा हाल अरबिका जातको कफी प्रचलित छ ।

समुद्र सतहबाट ५ सयदेखि १३ सय मिटरसम्मको उचाइमा रहेको भित्री मधेश र पहाडी क्षेत्रमा अरबिका जातको कफी खेती गर्न उपयुक्त देखिएकाले नेपालमा यसै जातलाई नै अघि बढाउन थालिएको छ । गुल्मी, पाल्पा र कास्कीमा कफीका बेर्ना प्रशस्त लगाउन थालिएको छ । कफीको बोटले तीन वर्षदेखि लगातार कम्तीमा ५० वर्षसम्म फल उत्पादन गर्ने अनुमान छ । नेपालमा विविध किसिमको भौगोलिक बनावट तथा हावापानी भएको हुँदा संसारका जुनसुकै देशमा लगाउन सकिने जुनसुकै जातका कफी लगाउन सकिने अवस्था छ । त्यस हिसाबले हेर्ने हो भने नेपालको मध्यपहाडी क्षेत्रको १ हजार ७ सय मिटरको उचाइसम्म अरेबिका जातको कफीखेती गर्न सकिन्छ ।

अरेबिका जातको कफीखेतीका लागि आवश्यक पर्ने ७० देखि ८० प्रतिशत सापेक्षिक तापक्रम, १६ सयदेखि २५ सय मिलिमिटरसम्म वर्षा र कम्तीमा १० देखि १२ घण्टा घाम लाग्ने र १५ देखि २५ डिग्री सेन्टिग्रेड तापक्रम, अधिकांश उत्तरपूर्वी र दक्षिणपूर्वी मोहडा मध्यपहाडी क्षेत्रभित्र पाइन्छ । नेपालका सबै पहाडी जिल्लामा कृषिलगायत ग्रामीण सडक र यातायात सञ्जालको विकास हुने क्रम बढ्नुका साथै पछिल्लो समयमा सरकारका विभिन्न कार्यक्रमअन्तर्गत सिँचाइ, बिजुली सबै ठाउँमा पुगिसकेका कारण नेपालमा कफी खेतीको राम्रो सम्भावना देखिन्छ ।

हाम्रो देशको कुरा गर्दा कफीको खेती मध्य तथा उच्च पहाडका करिब ४२ जिल्लामा ३२ हजारभन्दा बढी कृषकहरूले गरेको अनुमान छ । यसको संगठित रूपमा १५ जिल्लामा व्यावसायिक रूपमा खेती भएको पाइन्छ । जसमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, तनहुँ, लमजुङ, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, नुवाकोट, प्युठान र मकवानपुर रहेका छन् । त्यसैगरी, कफी खेतीको असंगठित २७ जिल्लाहरू रहेका छन् ।

जसमा धादिङ, ओखलढुंगा, रामेछाप, इलाम, बाग्लुङ, सल्यान, म्याग्दी, संखुवासभा, सोलुखुम्बु, चितवन, जाजरकोट, डोटी, रोल्पा, रुकुम, सुर्खेत, रसुवा, सिन्धुली, दैलेख, डडेल्धुरा, दोलखा, पाँचथर, खोटाङ, उदयपुर, भोजपुर, धनकुटा, ताप्लेजुङ र तेह्रथुम जिल्लाहरूमा पनि कफी खेतीको विस्तार भइरहेको पाइन्छ । विगतका तीन आर्थिक वर्षको कफी बिरुवा रोपण स्थितिलाई अवलोकन गर्दा आर्थिक वर्ष ०७०-७१, ०७१-७२ र ०७२-७३ मा क्रमशः १ हजार ९ सय ११, २ हजार ३ सय ८१ र २ हजार ६ सय १८ हेक्टर क्षेत्रफलमा लगाइएको अनुमान गरिएको छ ।

ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि व्यवसायलाई बहुसंख्यक जनताले प्रमुख पेसाको रूपमा लिई जीविको पार्जनको आधार बनाउँदै आएका छन् भने राष्ट्रिय अर्थतन्त्र उकास्न विभिन्न प्रकारका कृषिजन्य तथा पशुजन्य उद्योगहरूको भूमिका अपरिहार्य रहेको छ । त्यस्तैगरी, झण्डै ८० वर्ष पहिले गुल्मी जिल्लाबाट प्रवेश गरेको प्रमुख नगदे बालीका रूपमा रहेको कफीले अहिले आएर व्यावसायिक रूप लिन थालिसकेको छ ।

यस्ता प्रकारका नगदे बालीले विदेशी मुद्रा आर्जन तथा आयात प्रतिस्थापन गरी आर्थिक विकासमा थप टेवा पुग्न जानेछ । नेपाली समुदायमा क्रमिकरूपमा कफीप्रतिको सकारात्मक चाहना बढ्दो रूपमा विकास भएको पाइन्छ । यसका साथसाथै नगदे बाली कफीको रोपण, संरक्षण, उत्पादन, बजारीकरण र उपभोगका आयामहरूमा उत्साहपूर्ण देखिन्छ ।

यो व्यवसायले उद्योगजन्य नगदेबालीका रूपमा पहिचान बनाइ सकेको अवस्था छ । त्यसरी नै देशको समष्टिरूपमा विगत तीन आर्थिक वर्षको निर्यात परिणामकोे आँकडालाई अवलोकन गर्दा आर्थिक वर्ष ०७०-७१, ०७१-७२ र ०७२-७३ मा क्रमशः ५२ हजार ३ सय ९५, ९९ हजार ३ सय ४ र १ लाख ८ हजार १ सय ९१ किलोग्राम विभिन्न देशहरूमा कफी निर्यात भएको देखिन्छ । त्यसैगरी, सोही आर्थिक वर्षमा सोको लागत रुपैयाँ हजारमा क्रमशः ६६ हजार ४ सय ६२, ९९ हजार ८ सय ४७ र १ लाख १२ हजार ३ सय ७८ हजार रुपैयाँ माथि उल्लिखित कफी विभिन्न मुलुकहरूमा निर्यात गरे वापत् प्राप्त भएको रकम थियो ।

त्यस्तैगरी, उल्लिखित तीन आर्थिक वर्षमा विभिन्न देशहरूमा पठाउँदा निर्यातमा आयातलाई घटाइ बाँकी हुन आएको खुद नगद रुपैयाँ हजारमा क्रमशः ३१ हजार ६ सय ४७, ४३ हजार ३ सय ९१ र ५६ हजार ७ सय ८१ हजार रुपैयाँ बराबर खुद नेपाललाई विदेशी मुद्रा आर्जन गर्न सफल भएको तथ्यांकले देखाएको पाइन्छ ।

देशभरका ४२ जिल्लामा आर्थिक वर्ष ०७२-७३ मा २ हजार ६ सय १८ हेक्टर बिरुवा रोपण भएको र कुल ४ सय ३४ मेट्रिक टन कफी उत्पादन भएको छ । त्यस्तैगरी, ०७१-७२ मा २ हजार ३ सय ८१ बिरुवा रोपण तथा ४ सय ६३ मेट्रिक टन उत्पादन, आव ०७०-७१ मा १ हजार ९ सय ११ बिरुवा रोपण तथा ४ सय २९ मेट्रिक टन उत्पादन, ०६९-७० मा १ हजार ७ सय ५० बिरुवा रोपण तथा ४ सय ५७ मेट्रिक टन उत्पादन भएको राष्ट्रिय कफी विकास बोर्डले जनाएको छ ।

राष्ट्रको भौगोलिक तथा पर्यावरणीय अनुकूलता र तुलनात्मक लाभलाई उपयोग गर्दै कफीको उत्पादन र बजारलाई प्रवद्र्धन गर्न सकेमा देशभित्र र देशबाहिरका कफीका विविध प्रकारका उपभोक्ताहरूलाई सन्तुष्टि प्रदान गर्दै ठूलो धनराशिसमेत प्राप्त गर्न सक्ने देखिन्छ । खासगरी, मध्यपहाडी भेगमा उच्च गुणस्तरको कफी उत्पादन गर्न सकिने कुरा सर्वविदितै छ ।

यसर्थ, यस्तो किसिमको विशिष्ट गुणस्तरको कफीले अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग रहेको छ । यसकारणले गर्दा हालैका दिनमा विश्व बजारमा माग बढ्दै गएको हुँदा हाम्रो कफी खेतीको उत्पादन तेस्रो मुलुकतर्फ निकासिको कारणसमेत कृषकहरू यसतर्फ आकर्षित भएको पाइएको छ ।

यसका अलवा कफीखेतीले बजारमुखी उत्पादन, बोट विरुवाको निरन्तरता, माटो संरक्षण र वातावरणीय सन्तुलनलाई टेवा दिनुका साथै रोजगारीको अवसरमार्फत आर्थिक तथा सामाजिक रूपान्तरणमा समेत सहयोगी भूमिका निर्वाह गर्नसक्ने कुरामा कसैको पनि दुइमत नहोला । कफीको क्षेत्रमा अनुसन्धनात्मक कार्यमा संग्न राज्यका निकायहरूसँग समन्वयको आवश्यकता छ । यस क्षेत्रमा धेरै काम गर्न बाँकी छ । यसलाई भविष्यमा गएर अझबढी निरन्तरता दिनु अति आवश्यक छ ।

प्रतिक्रिया