नासाको यान मंगलग्रह नजिक

लस एन्जलस । नासाका वरिष्ठ वैज्ञानिकहरू करिब एक अर्ब अमेरिकी डलरको ‘मार्स इन्साइट’ यान सोमबार मंगलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् ।

मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रूपमा परिचित मंगल ग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरू उपग्रह कसरी चट्टानी स्वरूपमा बने भन्ने थाहा पाउनु हो ।

मानवरहित यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको यो ग्रहमा पदार्पण गर्ने नासाको यो पहिलो प्रयत्न सफल हुनेमा उनीहरू आशावादी छन् । सन् २०१२ मा क्युरिओसिटी रोभर बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको हो ।

यसअघि मंगलग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्नसमेत असफल भएका थिए ।

नासाले तयार गरेको नयाँ रोभरले मात्र पछिल्लो सफलता हासिल गर्न लागेको हो । यो अभियानले सन् २०३० को दशकमा मानवलाई मंगल ग्रहमा पठाउने मार्ग प्रशस्त गर्ने नासाका वैज्ञानिकहरूको अपेक्षा छ ।

नासाका एकजना प्रबन्धक थोमस जुर्बुचेनले आफूहरूले मंगल ग्रहको यात्रालाई सामान्य रूपमा कहिल्यै नलिएको बताउँदै यो साँच्चिकै कठिन यात्रा हो भने । मंगल ग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समयअनुसार बिहान ११ बजेर ४७ मिनेटमा सुरु हुनेछ । यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन लबोरटरीबाट हुनेछ ।

बन्दुकको गोलीभन्दा तीव्र गति अर्थात् १९ हजार ८ सय किलोमिटर प्रतिघण्टाको बेगमा रहने यो यानलाई मंगल ग्रहको वातावरण छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरूको अनुमान छ । वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५ सय डिग्री सेल्सियस पुग्नेछ, र रेडियो संकेतसमेत केही समय अवरुद्ध हुनेछ ।

मंगलग्रहमा यान अवतरण गर्नासाथ बाहिरी तापमान अवरोधक हट्नेछ, यानको तीनवटा खुट्टा देखिनेछ र प्यारासुट निस्कन्छ । भुईंतिर तीव्र गतिमा रहने यो यान जमिनको सतहमा पुग्ने वेलामा गति नियन्त्रणमा आउनेछ । करिब ३ सय ६५ किलोग्रामको यो यानको गति जमिन सतहमा पुग्दा ८ किलोमिटर प्रतिघण्टामा हुनेछ ।

प्रतिक्रिया