अमेरिकी सुरक्षाकर्मी र आप्रवासीबीच झडप

मेक्सिको । स्यान डिएगोमा अमेरिका –मेक्सिकोबीच सबैभन्दा ठूलो सीमा चौकी नजिक आप्रवासी र सुरक्षाबलबीच झडप भएको छ ।

यो सीमा खुलेलगत्तै मेक्सिकोबाट ठूलो संख्यामा अवैध आप्रवासी अमेरिका छिर्न लागेका थिए । जब सीमा चौकीबाट आप्रवासीलाई बाटो दिइएन तब उनीहरू नजिकैको एक सुख्खा नहरबाट अमेरिका पस्न खोजे ।

त्यसपछि अवस्थालाई नियन्त्रणमा लिन ट्रम्प प्रशासनको निर्देशनका आधारमा सुरक्षाबलले त्यहाँ अश्रुग्यास बर्सायो । प्रवासीहरूमा धेरैजसो महिला र बालबालिका थिए । घटनापछि पाँच घण्टासम्म सीमालाई बन्द राखिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि अमेरिकामा कानुनी रित पु¥याएर आउने आप्रवासीलाई मात्रै प्रवेश गर्न दिने बताएका थिए । मानवाधिकार संगठनले ९ नोभेम्बरमा ट्रम्पको यस निर्णयविरुद्ध अदालतमा रिट हालेका थिए । सान फ्रान्सिस्को जिल्ला अदालतले ट्रम्पको निर्णयलाई उल्ट्याइदिएको थियो ।

अदालती आदेशपछि ट्रम्पले यदि मेक्सिकोबाट आउने आप्रवासीको संख्या नियन्त्रणभन्दा बाहिर गएको अवस्थामा सीमालाई पुरै बन्द गरिदिएर आप्रवासीमाथि कारबाही थाल्ने बताएका थिए ।

आप्रवासीमाथि क्षति पु¥याउने ट्रम्पको यो भनाइको मेक्सिकोमा विरोध सुरु भएको थियो । मेक्सिकोमा प्रदर्शनमा उत्रिएका करिब ५ सय आप्रवासीहरू सान डिएगोको सीमामा पुगेर अमेरिकामा छिर्ने कोशिश गरेका थिए ।

मेक्सिकोको गृह मन्त्रालयले मानिसहरू हिंसकरूपमा अमेरिका छिर्न खोजेको स्वीकारेको छ । गृहमन्त्रालयले तिनीहरूको पहिचान गरेर डिपोर्ट गर्ने तयारी भइरहेको जनाएको छ । तिजुआनास्थित मेयरको कार्यालयले पनि केही मानिसको यस्तो गतिविधिकै कारण अमेरिकासँगको सम्बन्ध बिग्रन नदिने जनाएको छ ।

अमेरिका र मेक्सिकोबीचको सीमा ३ हजार १ सय ४० किलोमिटर लामो छ । १ हजार १ सय किलोमिटर क्षेत्रमा अहिले पनि बार लगाइएको छ । ट्रम्प यस सीमामा १२ देखि २० अर्ब डलर लगानीमा सिमेन्टको अग्लो पर्खाल लगाउन चाहन्छन् । यो पर्खालमार्फत् अवैध आप्रवासीलाई रोक्ने उनको योजना छ ।

अमेरिकामा अहिले पनि मेक्सिकोबाट छिरेका ६० लाख अवैध प्रवासी बसेका छन् । अमेरिकामा अवैधरूपमा पसेका आप्रवासीमा ९० प्रतिशत मेक्सिकन नागरिक नै छन् ।

प्रतिक्रिया