जलेर एकै परिवारका ४ जनाको मृत्यु

दमक । झापाको एक घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको जलेर मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति लक्ष्मण खनालको घरमा आगो लाग्दा उनीसहित चार जनाको मृत्यु भएको हो ।

३४ वर्षीय खनालसहित उनकी पत्नी २८ वर्षीय राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र ५ महिने छोरा टिकाराम खनालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

‘गुहार, गुहार भनेको आवाज आयो,’ स्थानीय भिमकला खतिवडाले भनिन्, ‘लक्ष्मण भाईले गुहार मागेको रहेछ, कुदेर जाँदा आगो हाम्रो नियन्त्रणबाहिर थियो ।’ खनालका बुबा आमा र अन्य दाजुभाइ धरमपुरमा बस्छन् भने भिमकलाको माइती नजिकै हो ।

प्रत्यक्षदर्शीका अनुसार आगो लागेपछि थाहा भएको र घरमा ट्याक्टरका लागि राखिएको डिजेल र ग्यास सिलिन्डर पड्केका कारण नियन्त्रणभन्दा बाहिर गएको बताएका छन् । ‘उद्धार गर्न सक्ने अवस्था नै थिएन,’ स्थानीय खतिवडाले भनिन्, ‘हारगुहार गर्दा पनि हामीले घर फुटाउन सकेनौँ, रमितेजस्तै हुनुपर्याे ।’ यद्यपि, घरको पछाडिको भाग फुटाउने कोसिस स्थानीयले गरेका थिए ।

लक्ष्मण ट्याक्टर व्यवसायी हुन् । ‘घरको भान्साबाट सुरु भएको आगलागीले पहिले डिजेल राखेको ड्रमलाई भेटेछ,’ स्थानीयले भने, ‘त्यसपछि आगो सबैतिर फैलियो ।’ ढोका बन्द रहेको र सेन्टरबेरा घरका सबै झ्यालमा फलामे रड लगाइएको हुँदा खनाल परिवार बाहिर निस्कन सकेनन् ।

घरभित्र रहेका खनाल दम्पत्तीले धेरैबेर हारगुहार गरे पनि स्थानीयवासीले सहयोग गर्न सकेनन् । न त समयमा दमकल नै आइपुग्यो । सिलिन्डर विष्फोटपछि गाउँले दमकललाई खबर गरे पनि धेरै ढिला गरी आएको स्थानीयले बताए । शिवसताक्षी नगरपालिकामा दमकल छैन । जसका कारण बिर्तामोड, मेचीनगर र दमकको दमकल आइञ्जेल पर्खिनुपर्ने हुन्छ । आगलागी सुरु भएको एक घण्टापछि अर्थात् राती ११ बजे मात्रै दमकल आइपुगेको स्थानीयले बताए ।

यसैबीच, घटनापछि स्थानीयवासीले नगरपालिकाका जनप्रतिनिधिमाथी आक्रोश पोखेका छन् । उनिहरूले मेयर चढ्ने गाडी किन्न सक्ने, तर आगो निभाउने दमकल किन्न नसक्ने भन्दै आलोचना र आक्रोश पोखेका हुन् । नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले भने आलोचना भए जस्तो आफूहरूले सुविधा नलिएको दाबी गरिन् ।

दमकल राख्ने आर्थिक क्षमता र जनशक्ति नगरपालिकासँग नभएकाले किन्न नसकेको उनको तर्क छ । झापा प्रहरी प्रमुख भीमप्रसाद ढकालले आगलागीका विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

साविकको शिवगञ्ज र सतासीधाममा यस्तै प्रकृतिका अन्य तीनवटा घटना घटिसकेका छन् । ०६१ सालमा चन्द्रडाँगीमा संग्राम खड्काको घरमा आगलागी हुँदा एकै परिवारका पाँच जनाको जलेर ज्यान गएको थियो । यस्तै, दूधेमा मनिका खरेल (भट्टराई) को घरमा ०६९ सालमा आगलागी हुँदा एकै परिवारका तीन जनाको जलेर ज्यान गएको थियो ।

प्रतिक्रिया