विकासको गति तीव्र रुपमा अघि : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रुपमा अघि बढाइने बताउनुभएको छ । मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उनले विकासको गतिलाई द्रुत गतिमा कसरी बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई रहेको छ भने । प्रधानमन्त्री ओलीले भने, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौँ ।

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्न गत असोज २८ गते डा रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय मानव संसाधन प्रक्षेपण कार्यदल गठन गरेकोे थियो । समितिका अन्य सदस्यमा डा माधव दाहाल, डा इन्दिरा पराजुली, डा विश्ववाला थापा, डा विजयदत्त, डा ध्रुव गौतम र डा राजेश अहिराज रहेका छन् ।

योजनाबद्ध विकासका लागि मानव संसाधन प्रक्षेपण आवश्यक रहेको प्रधानमन्त्री ओलीले जोड दिँदै सरकार समृद्ध नेपाल, सुखी नेपाली बनाउने कार्यमा उच्च प्राथमिकतासाथ लागेको छ भने । प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने जानकारी हुनुपर्ने चर्चा गर्दै कार्यदलले बनाउने प्रतिवेदनले मानव संसाधन आपूर्तिलाई मार्गदर्शन गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमूलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिए । आगामी धेरै वर्षसम्म यस कार्यदलको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ, चिकित्सक, इञ्जिनीयर, शिक्षक कति चाहिने, कृषिमा कति जनशक्ति कति चाहिने यी सबै कुरा तथ्यगत रुपमा कार्यदलले ल्याउनुपर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ,” प्रधानमन्त्रीओलीले भने ।

कार्यदलले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयले पनि योजना बनाउने भएकाले यसलाई त्रुटिरहित बनाउन प्रधानमन्त्री ओलीले निर्देशन दिए । कार्यदलको निर्देशक समितिको संयोजकमा शिक्षा, विज्ञान प्रविधिमन्त्री छन् । कार्य दलको समयावधि चार महीना रहेको छ ।

प्रतिक्रिया