ए डिभिजन लिग: सरस्वती युथ र हिमालयन शेर्पा विजयी

काठमाडौं । सरस्वती युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सरस्वतीले एनआइबिएल फ्रेन्डस क्लबलाई ३–० ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । सरस्वतीको जितमा तीन विदेशी खेलाडी भिक्टर, फ्रान्सिस र इब्राहिमले गोल गरे । पहिलो हाफमा १–० को लिएको सरस्वतीले दोस्रो हाफमा २ गोल थप्न सफल भयो ।

सरस्वतीले खेलको १३औँ मिनेटमा भिक्टरको गोलबाट अग्रता बनाएको थियो । गोलरक्षक प्रदिप भन्डारीले फालेको बललाई भिक्टरले गोलमा परिणत गरेको थिए । त्यसअघि १३औं मिनेटमा फ्रेन्डस्ले गोल गर्ने मौका खेर फालेको थियो । सनिस श्रेष्ठको क्रसमा प्रेजेन तामाङको हेडरलाई गोलरक्षक प्रदिपले बचाएका थिए ।

खेलको तेस्रो मिनेटमा पेनाल्टी एरियाबाट किरण बोहराले निकै फितलो प्रहार गरे । ११औं मिनेटमा रुमेश बर्तौलाको क्रसलाई धिरज श्रेष्ठले भेट्न सकेनन् । २४औं मिनेटमा फाफनाको फ्रिकिक क्रसबारबाट थोरै बाहिरिएको थियो ।
सरस्वतीले २६औं मिनेटमा अग्रता दोब्बर पार्ने मौका खेर फालेको थियो । दिपेश श्रेष्ठको क्रसमा अनमार्क रहेका फ्रान्सिसको प्रहार गोलरक्षक मोहम्मदले बचाएका थिए । रिवाउन्डमा भिक्टरको प्रहारललाई पनि गोलरक्षकले विफल पारिदिएका थिए । ३८औं मिनेटमा फ्रान्सिसको प्रहार गोलरक्षक मोहम्मद करिमले बचाएका थिए ।

दोस्रो हाफको ७३औं मिनेटमा फ्रान्सिसले एकल प्रयासमा गोल गर्दै अग्रता दोब्बर पार्यो । दिपेश श्रेष्ठलाई लडाएपनि रेफ्रीले एडभान्टेज दिदा फ्रान्सिसले सहजै गोल गरेका थिए । ८३औं मिनेटमा इब्राहिमले गोल गर्दै सरस्वतीलाई ३–० को सहज जित दिलाए । कर्नरमा आएको बललाई फ्रान्सिसले दिएको पासलाई इब्राहिमले गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा फ्रेन्डस्ले गतिलो आक्रमण बुन्न सकेन ।

तेस्रो चरणको खेल सकिँदा सरस्वतीले ३ अंक जोड्दा फ्रेन्डसले अंकको खाता खोल्न सकेको छैन । सरस्वतीका भिक्टर खेलको म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी शनिबारै भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जित हासिल गरेको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २ – १ गोल अन्तरले पराजित गरेको हो ।

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हिमालयन शेर्पालाई जित दिलाउन कर्ण लिम्बुले दुई गोल गरे । जावलाखेलले भने आत्मघाती उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा कर्णले गोल गर्दै हिमालयनलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ७५ औं मिनेटमा कर्णले ब्यतिगत दोस्रो गोल गर्दै टोलीलाई २ – ० को अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा हिमालयनका आशिष गुरुङले आत्मघाती गोल गर्दा जावलाखेल २ – १ को स्थितिमा आयो । त्यसपछि खेलको अन्तिममा जावलाखेलले बराबरी गर्ने मौका पाएपनि मौका चुकाउदा पराजित हुन पुग्यो । जावलाखेलका विदेशी खेलाडी फोफाना फोदीले सुनौलो मौकामा गोल गर्न सकेनन् ।

प्रतिक्रिया