ताप्लेजुङ । ताप्लेजुंको हिमाली भेगका विद्यार्थीलाई उच्च शिक्षा हासिलका लागि छात्रवृत्ति प्रदान गरिएको छ । हिमालयन ट्रस्ट युके र रिड नेपालले वर्षेनी प्रदान गर्ने छात्रवृत्तिअन्र्तगत यस वर्ष ताप्लेजुङका ८ जनाले छात्रवृत्ति प्राप्त गरेका छन् ।
जर्जव्यान्ड उच्च शिक्षा छात्रवृतिअन्तर्गत रिड नेपालले काम गर्ने ताप्लेजुं जिल्लाको इखावु, तापेथोक, लेलेप, ओलाङचुङगोला र याम्फुदिनका ८ जनाले छात्रवृत्ति पाएका हुन् । यस वर्ष प्राविधिक शिक्षा अध्यानरतलाई दिईने पूर्ण छात्रवृत्ति एक जना, अर्धछात्रवृत्ति ३ जना र आंसिक छात्रवृत्ति ४ जनाले पाएको रिड नेपालका कार्यक्रम संयोजक राजेन्द्र पन्तले जानकारी दिए ।
पूर्णछात्रवृत्ति अन्र्तगत लेलेपकी सिर्जना लिम्बूले १ लाख ४ हजार पाएकी छिन् । यस्तै अर्धछात्रवृत्तिअन्तर्गत याम्फुदिनकी सुनगाभा राई, इखावुका मिलन राई र लेलेपका पोमुहाङ लिम्बूले ७२ हजारका दरले रकम पाउने भएका हुन ।
यता आंसिक छात्रवृत्तिअन्तगत ईखावुका प्रविन मावोहाङ, लेलेपकी विषमता लिम्बू, तापेथोककी रविना लिम्बू र ईखावुका रोगन मावोहाङले ४० हजारका दरले छात्रवृत्ति प्राप्त गर्ने कार्यक्रम संयोजक पन्तले बताए । पन्तका अनुसार छात्रवृत्ति प्रदान गरेको यो पाँचौँ पटक हो । अहिले सम्म रिडको कार्यक्षेत्र भित्रका ५७ जनाले छात्रवृति पाएका छन् ।
यी विद्यार्थीका लागि रिडले वार्षिक २ लाख ४० हजार छात्रवृत्तिका रूपमा खर्च गर्नेछ । दुई महिना अघि निकालिएको विज्ञापनमा आवदेन दिएका १७ जनालाई एसइईमा पाएको प्राप्तांक, घरको आर्थिक अवस्था, लिखित परीक्षा र अन्तर्वार्ताको आधारमा मूल्यांकन गरीएको थियो ।
यो सम्पूर्ण छात्रवृत्ति प्राप्त गर्नको लागि विद्यार्थीले अनिवार्य रूपमा उत्तिर्ण भने गर्नुपर्ने हुन्छ । रिडले जिल्लाको दुई गाउँपालिकामा शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ । पछिल्लो समय भने स्वास्थ्य सेवाको क्षेत्रमा समेत काम गरिरहेको कार्यक्रम संयोजक पन्तले जानकारी दिए ।
प्रतिक्रिया