खोलिए नारायणहिटीका विलासी कोठा

काठमाडौं । पूर्व राजाहरूले प्रयोग गर्ने नारायणहिटी दरबार संग्रहालयका १० कोठा (कक्ष) सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।
सग्रहालयमा तत्कालीन राजाहरूले आराम गर्ने, खाना खाने, बैठक गर्ने, प्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने लगायतका कोठाहरू खुल्ला गरिएका छन् ।

यी कोठाहरूलाई विभिन्न जिल्लाको नामबाट नामाकरण गरिएको छ । सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अंगरक्षकहरूको कार्यकक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अवलोकन गरी खुला भएको घोषणा गरे ।

शृंगार कक्षका रूपमा राखिएको सिन्धुली बैठकमा तत्कालीन रानीले पोसाक पहिरिने, शृंगार गर्ने तथा दिउँसोको खानापछि आराम गर्न प्रयोग गरिन्थ्यो । गणेश हिमाल कार्य कक्ष भनिने झापालाई प्रतीक्षालयका रूपमा उपयोग गरिएको थियो । यस कोठामा पूर्वराजाले छलफल तथा दर्शनभेट कार्यक्रम हुँदा आउने पाहुनालाई राखिन्थ्यो ।

इलामलाई समेत गणेश हिमाल कार्य कक्षको नाम दिइएको छ । यो कोठामा तत्कालीन राजाले हप्ताको एक दिन प्रायः बिहीबार प्रधानमन्त्रीसँग छलफल गर्ने गरी उपयोग गरिएको थियो । यो कक्षमा अन्य विशिष्ट व्यक्तित्वसँग पनि वार्ता हुने गर्दथ्यो ।

दरबारभित्रको सुनसरी लेखिएको कोठामा पूर्वराजा तथा राजपरिवारका सदस्यले श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन एवं नव यज्ञोपवित धारण गर्ने कार्यक्रम हुन्थ्यो । रक्षाबन्धन कक्ष भनेरसमेत नामाकरण गरिएको यो कोठामा राजपरिवारका सदस्यको अन्य धार्मिक गतिविधि हुन्थ्यो ।

सप्तरी जिल्लाको नाममा नामाकरण गरिएको कक्षमा विभिन्न समयमा हुने रात्रि तथा दिवा भोजको चोेखो (शाकाहारी) खाना राखिन्थ्यो । यसलाई भोजन कक्षको नामले समेत चिनिन्छ । पूर्व मुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्सवका अवसरमा धनुषा बैठकमा आयोजना हुने कार्यक्रममा सहभागीको भोजन गर्ने कोठाका रूपमा समेत यसलाई उपयोग गरिएको नारायणहिटी दरबार संग्रहालयले जनाएको छ ।

सिराहा बैठक कक्षमा सप्तरी भोजन कोठामा भोज आयोजना हुँदा खानाअघि र पछि बसेर छलफल गरिन्थ्यो । धनुषा बैठक कक्षमा बडादसैँको टीकाग्रहण, विभूषण प्रदान गर्नेलगायत विभिन्न कामका लागि प्रयोग गरिन्थ्यो । पर्सा, चितवन र कपिलवस्तु बैठक कक्षलाई पाहुना कोठाका रूपमा उपयोग गरिएको थियो । अंगरक्षकहरूको कार्य कक्षमा पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी बस्ने गरेको जनाइएको छ ।

दश कक्षको अवलोकनपछि खुला गरिएको घोषणा गर्दै मन्त्री अधिकारीले दरबारभित्रको चलचित्र घर र पुस्तकालयबाहेकका सबै कोठा सर्वसाधारणले अवलोकन गर्न सक्ने जानकारी दिए । ती दुई कोठालाई पनि छिटोभन्दा छिटो अवलोकन गर्न सक्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

दरबारमा ५२ कक्ष भनिएका कुन–कुन हुन् तिनको वास्तविक विवरण संकलन गर्न मन्त्री अधिकारीले निर्देशन पनि दिएका छन् । संग्रहालयको गुरुयोजना अन्तिम चरणमा पुगेकाले त्यसको कार्यान्वयनपछि आकर्षकस्थलका रूपमा विकास गरिने मन्त्रालयले लक्ष्य राखेको छ ।

मन्त्रालयले करिब एक महिनाअघि पूर्वराजाले पहिरिने श्रीपेच र राजदण्ड सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरेको थियो । कार्यक्रममा पुरातत्व विभाग र नारायणहिटी दरबार संग्रहालयका अधिकारीहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया