उपभोक्ता ठग्ने व्यापारी अब कारबाहीमा

काठमाडौं । उपभोक्ताको अधिकारसम्बन्धी नयाँ कानुन लागू भएसँगै उपभोक्ता ठग्ने व्यापारीलाई जरिवाना तोक्न आपूर्ति विभागले सुरु गरेको छ । गत कात्तिक २ गतेदेखि लागू भएको नयाँ कानुनअनुरूप वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अहिलेसम्ममा काठमाडौँ उपत्यकाको दश व्यापारीबाट जरिवाना असुल गरेको छ भने पाँच व्यापारीले गलत काम गरेको हो कि होइन भनी अनुसन्धानको प्रक्रियामा रहेको विभागले जानकारी दिएको छ ।

१० व्यापारीबाट नयाँ ऐनअनुरूप उपभोक्ता ठगी गर्ने र अखाद्य सामग्री बिक्री–वितरण गर्नेलाई रु पाँच हजारदेखि ५० हजारसम्म जरिवाना असुल गर्ने अधिकार दिएको छ । यसअघि अनुगमनका क्रममा विभागले कारबाहीका लागि अधिकार प्रयोग गर्न नपाइने भए पनि अहिले भने अनुगमन अधिकृतलाई अनुगमनका क्रममा कैफियत फेला परे तत्काल कारबाही गर्ने अधिकार दिइएको छ । अधिकारको सदुपयोग गर्दै पछिल्लो समय अनुगमन अधिकृतहरूले कारवाही प्रक्रिया सुरु गरेको बजार अनुगमन संयोजक रधुनाथ महतले जानकारी दिए ।

‘कानुन कार्यान्वयन सुरुको अवस्थामा रहेकाले अनुगमनका क्रममा कैफियत देखिएका र जरिवाना असुल गरी तिर्नेहरूले पनि पाँच हजारसम्मको रकम भए दिएका छन त्यसभन्दा माथिका रकम तिर्नका लागि आनाकाना गरिरहेका अवस्था छ’ संयोजन महतले भने । उपभोक्ताको हित विपरीत काम गर्ने जो कोहीलाई कारबाही गर्नका लागि नयाँ कानुन लागू भएको धेरै भएको छैन । कानूनका बारेमा जानकारी नहुँदा परम्परागत रूपमा नै किनबेच भइरहेको छ । न त उपभोक्तालाई थाहा छ, कानूनका बारेमा न त व्यापारीलाई नै यी दुवै पक्षलाई लक्षित गरी विभागले अबको केही दिनमा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । कानुनबारे जानकारी नहुँदा पनि ठगिने र ठग्ने प्रक्रिया जारी रहेको संयोजक महतको भनाइ छ ।

सचेतना कार्यक्रम काठमाडौं उपत्यकाका जिल्लामा र बाहिरी जिल्लामा पनि सञ्चालन गरिनेछ । कानुनी रूपमा व्यापारीले खरिद गरेको मूल्यको २० प्रतिशत नाफा खान पाउने भए पनि अनुगमनका क्रममा ४ सय ५० देखि ५ सय प्रतिशतसम्म नाफा खाने गरेको अनुगमनका क्रममा फेला परेको छ । यसरी तोकिएभन्दा बढी नाफा खानेमा उपत्यकाको व्यापारी र फर्मभन्दा पनि उपत्यकाबाहिरका जिल्ला धादिङ, चितवन, गोरखा र तराई जिल्लाका व्यापारी रहेका छन् ।

विभागले उपत्यका र बाहिरका जिल्लामा अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा देखिएका कमजोरीलाई कारबाही गर्न लागि कानुनी दायरा अलि फराकिलो बनाएसँगै आगामी दिनमा अनुगमन प्रभावकारी हुने विश्वास विभागको छ । विभागले गत बिहीबार गरेको बजार अनुगमनका क्रममा उपभोक्ताको हित विपरीत खाद्य सामग्री बिक्री–वितरण गरेकाको भन्दै दुई पसलबाट रु ५५ हजार जरिवाना असुल गरेको छ ।

बूढानीलकण्ठमा रहेको थापा श्री किराना स्टोर र स्टार मिट प्रोडक्ट प्रा लि, शोभाभगवतीबाट रु ५५ हजार जरिवाना असुल गरेको हो । थापा किराना स्टोरमा मूल्यसूची अपडेट नभएको, एक्सपायर जोन नभएको तथा फोहरको उचित व्यवस्थापन नगरेकाले पाँच हजार र स्टार मिट प्रोडक्ट प्रा लि, शोभाभगवतीले प्यान दर्ता नगरेको, खाद्य अनुज्ञापत्र नबनाएको, मूल्यसूची नभएको, ससेज उत्पादन स्थल अत्यन्त फोहोर भएकाले ५० हजार रुपैयाँ जरिवाना असुल गरिएको हो । साथै कारबाही प्रक्रिया पूरा नहुञ्जेलसम्म दुवै पसललाई उत्पादन नगर्न पनि निर्देशन दिइएको छ । दुवै पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको हो ।

प्रतिक्रिया