सार्वजनिक जग्गा अतिक्रमणको मारमा

बारा । नियमनकारी कार्यालयहरु सक्रिय नहुँदा बाराको जीतपुसिमरा उपमहानगरपालिका–१ पथलैयाका सार्वजनिक जग्गामा अतिक्रमण बढेको छ ।

त्रीभुवन राजपथ सिमरा पथलैया सडक खण्डको पूर्वतर्फको मुख्य राजमार्गसँग जोडिएको राष्ट्रिय वन र परवानीपुर सिमरा ६६ केभी प्रसारण लाइनमुनिका झन्डै १० बिघाभन्दा बढीका जग्गामा नियमनकारी कार्यालयहरू सक्रिय नहुँदा अतिक्रमण बढेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयादेखि दक्षिण र पथलैया वीरगञ्ज सडक खण्डको पूर्वमा पर्ने जिल्ला वनको जग्गा धमाधम अतिक्रमण भइरहँदासमेत सम्बन्धित निकाय मौन बसेका छन् । करिब १० बिघा क्षेत्रफल रहेको वनको जग्गामा त्यस जग्गासँग प्रत्यक्ष सरोकार राख्ने डिभिजन वन कार्यालय बारा, विद्युत् प्राधिकरण र स्थानीय निकाय मौन बसेकै कारण सो जग्गा धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका हुन् ।

हाल यस क्षेत्रमा करिब दुई दर्जनभन्दा बढी घरटहरा निर्माण भइसकेका छन् भने निर्माण कार्य दु्रत गतिमा अघि बढिरहेको छ । कतिपय जग्गाहरू घेराबार गरी राखिएको छ । पूर्व एवं वर्तमान स्थानीय जनप्रतिनिधिहरूको संलग्नतामा जग्गा अतिक्रमण भइरहेको र लाखौँको मूल्यमा किनबेच हुने गरेको स्थनीयकोे आरोप छ ।

बारामा यसअघि नै पार्टीपौवा, मठ मन्दिर, तपस्यास्थल र सुकुम्बासीका नाममा करिब १२ सय हेक्टर जमिन अतिक्रमण भइसकेको डिभिजन कार्यालय सिमराको तथ्यांकले देखाउँछ । केही वर्षअघि ४७ हजार १ सय ८२ हेक्टर भू–भाग जंगल ओगटेको बारामा पर्सा राष्ट्रिय निकुञ्जलार्ई १५ हजार ९सय ९१ हेक्टर र करिब १२ सय हेक्टर अतिक्रमण भएपछि बाराको जंगल क्षेत्र साँघुरिँदै आएको छ ।

करिब १० बिघा क्षेत्रफल रहेको वनको जग्गामा त्यस जग्गासँग प्रत्यक्ष सरोकार राख्ने डिभिजन वन कार्यालय बारा, विद्युत् प्राधिकरण र स्थानीय निकाय मौन बसेकै कारण सो जग्गा धमाधम अतिक्रमणको चपेटामा पर्दै गएका हुन्

यता अतिक्रमित जग्गालाई नियन्त्रण गर्न र अतिक्रमण बढ्न नदिन स्थानीय जनप्रतिनिधि र स्थानीय सरकारसँग समन्वय गरी केही समयभित्रमै नियन्त्रणका काम सुरु गर्ने डिभिजन वन कार्यालय बाराका प्रमुख ज्ञानेन्द्र मिश्रले बताएका छन् ।

यता नगरभित्र रहेको सार्वजनिक पर्ती जग्गाको संरक्षणकर्ता जीतपुरसिमरा उपमहानगरपालिकाले बिस्तारै सार्वजनिक जग्गालाई यकिन गर्ने काम सुरु भएको जनाएको छ । कर्मचारीको कमी मुख्य समस्या रहेको बताउँदै जीतपुरसिमरा उपमहानगरपालिकका नगरप्रमुख डा. कृष्ण पौडेलले अतिक्रमण भएको स्वीकार्दै आगामी दिनमा नियन्त्रणका लागि पालिका लागिपर्ने बताए ।

यता विद्युत् प्राधिकरण सिमराका सहायक प्रबन्धक ई.रोहिणी पौडेलले ६६ केभी हाइटेन्सनको सेन्टरबाट नौ÷नौ मिटर दाँयाबाँया भवन निर्माण र ठूला प्रजातिका रुख रोप्न नपाइने कानुनी प्रावधान रहेको बताएका छन् । उनले हाइटेन्सनको सेन्टरभित्र कुनै पनि किसिमका काम गर्न नपाइने भए पनि आफ्नो अधिकार क्षेत्रमा नपर्ने भन्दै यो जिम्मेवारी विद्युत् प्राधिकरण प्रसारण लाइन कार्यालय हेटौंडाको रहेको बताए ।

हाल यस जग्गाको भोगाधिकार डिभिजन वन कार्यालय बारामा रहेता पनि विद्युत् प्राधिकरण प्रसारण लाईन कार्यालय हेटौँडाले यहीँबाट आफ्नो ६६ केभी प्रसारण लाइन लगेको छ । तर, यी दुबै निकायलाई आफ्नो जग्गा अतिक्रमण गरेको जानकारीसमेत नभएको सम्बन्धित निकायका प्रमुखहरूले बताएका छन् ।

साथै जग्गा अतिक्रमणलाई रोक्न र सार्वजनिक जग्गाको संरक्षणको जिम्मेवारी स्थानीय निकायलाई दिएको भन्दै नेपाल विद्युत् प्राधिकरण सिमरा र डिभिजन वन कार्यालय बाराले आफ्नो जिम्मेवारीलाई स्थानीय निकायको जिम्मा भन्दै पन्छिन खोजेका छन् ।

प्रतिक्रिया