भारतको रोजगारी छोड्दै पथौडावासी

बझाङ । घरायसी तथा छोराछोरीको पढाइ खर्च जोहो गर्न बर्सेनि रोजगारीका लागि भारत बस्दै आएका बझाङको केदास्यू गाउँपालिका–१ पथौडा गाउँका किसानहरू अचेल गाउँमै फर्केर तरकारी खेती गर्न थालेका छन् ।

गाउँमै बसेर केही रोजगारी गर्नुपर्छ भन्ने सोच पलाएपछि पथौडा गाउँका अधिकांश किसान आजकाल टमाटरखेतीतर्फ आकर्षित भएका हुन् । टमाटर खेतीबाट मनग्य आम्दानी हुन थालेपछि जीविकोपार्जनमा सहजता आउँदा पथौडा गाउँका बासिन्दाले आजकाल रोजगारीका लागि भारत जान छोडेका छन् ।

गत वर्षदेखि सुरु गरिएको तरकारी खेतीबाट पथौडा गाउँका प्रत्येक परिवारको वार्षिक एक लाखसम्म आम्दानी हुने गरेको छ । बझाङस्थित केही सरकारी तथा गैरसरकारी संस्थाबाट प्रेरणा पाएपछि तरकारी तथा टमाटर खेती थालिएको पथौडा गाउँका किसानहरूले जानकारी दिएका छन् ।

तरकारी खेती गर्दै आएका पथौडा गाउँका २५ परिवार किसानले आजकाल ५० रोपनी जमिनमा मौसमी तथा बेमौसमी टमाटर खेती गर्दै आएका छन् । बर्सेनि टमाटर उत्पादनमा वृद्धि भएता पनि बजार भाउ भने पाउन नसकेको पथौडा गाउँका किसानहरूले गुनासो गरेका छन् ।

प्रतिक्रिया