कर्मचारी १ हजार, काम शून्य

काठमाडौंं । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । फोहोर व्यवस्थापनका काठमाडौं महानगरपालिका भित्र १ हजार ६ जना कर्मचारीे काममा संलग्न रहेका छन् ।

सो कर्मचारीबाट प्रभावकारी रूपमा काम नभएको भन्दै त्यस्ता कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । सोमबार टेकु ट्रान्सफर स्टेसनमा फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले सो कुरा बताएका हुन् ।

कामपाका मेयर शाक्यले फोहोर व्यवस्थापनमा आन्तरिक कमजोरी भएको स्वीकारेका छन् । कर्मचारीले काममा ध्यान नदिदाँ आफूहरूले आरोप सहनुपरेको शाक्यको भनाइ छ । शाक्यले भने, ‘फोहोरमा काम गर्ने कसैले, व्यक्तिगत स्वार्थका लागि संस्थागत दायित्वमा हानी गरेका छन् कि भनेर निगरानी सुरु गरेका छांँै ।’ व्यक्तिगत स्वार्थका लागि काम गरेको पाइए त्यस्ता कर्मचारीलाई कारवाही गरिने उनले बताए ।

कर्मचारीले काम नगर्दा जनप्रतिनिधिले आरोप सहनुपरेको समेत उनले बताएका छन् । मेयर शाक्यले सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । उपत्यकाको फोहोर व्यवस्थापनमा सरकारी कार्यालय अर्थात कामपाको तुलनामा निजी क्षेत्रले राम्रो काम गरेको बताएका छन् ।

सरकारी कर्मचारीले लैजाने दुई ट्रिप निजि क्षेत्रले एकै टिपमा लैजाने समेत बताए । उनले थपे, ‘निजी क्षेत्रले फोहोर संकलन र ढुवानीमा राम्रै काम गरे पनि सार्वजनिक ठाउँमा छुट्याएर महानगरको छवि बिगारेको छ ।’

उपत्यकाको फोहोर व्यवस्थापनमा महानगर र उपत्यकाका सबै नगरपालिकाकातर्फबाट लगानी बोर्डमा पठाइएका ५ बुँदे शर्तको उत्तरको प्रतिक्षामा रहेको बताउँदै प्रमुख विद्यासुन्दर शाक्यले भने ‘अहिले लगानी बोर्डका काममा सहजीकरण गर्नेबाहेक अन्य कुनै ठूला निर्णय र योजना छैन ।’

फोहोर जसले संकलन गरोस्, ऊ महानगरभन्दा छुट्टै संयन्त्र होइन, महानगरले अख्तियारी गरेका नीतिका अधिनमा बसेर काम गर्नुपर्छ । मेयर शाक्यले भने, ‘फोहोर कुनै पनि बहानामा रोकिनु हुँदैन म सुन्दैछु, हिजो पनि फोहोर रोकियो रे ! अब यसरी चल्दैन ।’ टेकु ट्रान्सफर स्टेसन फोहोर शून्य हुनुपर्नेमा उनले जोड दिएका छन् ।

उपत्यकाकाको दीर्घकालीन ल्यान्डफिल्ड साइटको पूर्वाधार निर्माणका विषयमा बञ्चरे डाँडामा ल्यान्डफिल्ड साइटका रूपमा तयार गर्न सहरी विकास मन्त्रालयले पूर्वाधार विकासको जिम्मेवारी लिएको उनले जानकारी दिए ।

त्यस क्षेत्रमा काठमाडौंबाट जाँदा तीनपिप्लेसम्मको सडक निर्माण गर्न यस अघि नै बोलपत्र आह्वान भइसकेको छ भने त्यसभन्दा अगाडिको सडक निर्माण गर्ने जिम्मेवारी सडक डिभिजन कार्यालयले लिएको छ । उपत्यकाका सवै नगरपालिका फोहोर व्यवस्थापनको दिगो समाधानमा एउटै नीति अनुरूपमा लक्ष्य निर्धारण गरिरहेको शाक्यले बताए ।

दुर्गन्ध हटाउने प्रविधिको परीक्षण

सोमबार बिहानै टेकु ट्रान्सफर स्टेसनमा जैविक फोहोरको दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । रगत मिसिएको कुखुराको प्वाँख, राँगा भैसीको लादीलगायतका जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको हो ।

इड्मा इन्टरनेसनल कम्पनीका प्रतिनिधिहरूका अनुसार यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हट्छ । यो विधि, जैविक फोहोरमा प्रयोग गरिन्छ ।

यो ब्याक्टेरिया सकारात्मक ब्याक्टेरियो हो । यसले मानब स्वास्थ्यमा कुनै पनि असर गर्दैन । निष्क्रिय बनाएर राखिएको व्याक्टेरियालाई सक्रिय बनाएर यसको प्रयोग गरिन्छ ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ भने ,‘यसको तथ्य विश्लेषण गरेर, कार्यान्वयन गर्न सकिन्छ कि सकिदैन निष्कर्षमा पुग्छौँ ।’ परम्परागत फोहोर व्यवस्थापनका विधिलाई आधुनिक बनाउँदै लैजाने क्रममा यस प्रकारको परीक्षण गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया