रुपन्देहीमा तीन नयाँ पर्यटकीय गन्तव्य

रुपन्देही । जिल्लाका दुई नगरपालिकाका तीन स्थान नयाँ पर्यटकीय गन्तव्यमा परेपछि त्यसको प्रवद्र्धन गर्न थालिएको छ । जिल्लाको सैनामैना क्षेत्र, तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) र बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूहको बाउन्नकोटीमा पर्यटन प्रवद्र्धनका लागि काम भइरहेको सम्बन्धित नगरपालिकाले जनाएका छन् ।

सैनामैना नगरपालिकाको सैनामैना क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक भग्नावशेष, सैनामैना संग्रहालय, रानीकुवा, मलमला मन्दिर, महेरहवा बाबा, राजापानी, बौद्ध गुम्बा, लामिरह क्षेत्र, थारू संग्रहालय, जर्लैया सिमसार क्षेत्र लगायतका स्थानबाट पर्यटकीय आकर्षण बढ्ने नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।

उनले सैनामैनामा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासका लागि स्थानीय तहबाट पनि केही बजेट विनियोजन भएको उल्लेख गर्दै नयाँ पर्यटकीय क्षेत्रको रूपमा छनोट भएपछि प्राप्त हुने अनुदानबाट सडक र पूर्वाधारको क्षेत्रमा काम गर्न सकिने बताए । ‘सैनामैना नयाँ पर्यटकीय गन्तव्यमा परेपछि यसको वृहत्तर विकासमा जोड दिइनेछ’, नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले भने । यस बाहेक सैनामैनामा दुई दशकअघिका योगीमूर्ति, दरबारको भग्नावशेष, ओखल, इँटा, माटाका भाँडा, खेलौना र मूर्तिले यस क्षेत्रको प्राचीनता पुष्टी हुने बताइएको छ ।

मायादेवीले यहाँकी मैना नाम गरेकी रानीसँग सैना (मितेनी) लगाएकोले सैनामैना भन्न थालिएको पनि संस्कृतिविद् डा गीतु गिरीले ‘वृहद् लुम्बिनी क्षेत्रका पर्यटकीय गन्तव्य’ नामक कृतिमा उल्लेख गरे । त्यस्तै तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) र बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह बाउन्नकोटीमा पनि पर्यटन प्रवद्र्धनका लागि काम भइरहेको नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

उनले वनवाटिकामा १४ करोडको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गर्न लागिएको, खानेपानी, सडकलगायत भौतिक पूर्वाधारको लागि केही बजेट विनियोजन गरेर काम अघि बढाइएको बताए । ‘वनवाटिकामा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लागेको छ’ नगरपालिका प्रमुख घिमिरेले भने । उनले बाउन्नकोटीमा पनि गौशाला, वनभोजस्थल रहेको जानकारी दिँदै पर्यटन प्रवद्र्धनबाट सरकारको लक्ष्य हासिल गर्न सकिने बताए ।

उक्त गन्तव्यका लागि वार्षिक ५० लाख भौतिक पूर्वाधारमा खर्च गर्न अनुदान प्राप्त हुने छ । नेपाल भ्रमण वर्ष, २०२० सम्म वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्य लिएको सरकारले पर्यटनमा बहुआयामिक विकासको लक्ष्य लिएको छ । छनोट भएका गन्तव्यमा आवश्यक पूर्वाधार निर्माण प्रवद्र्धन तथा अन्य विकास निर्माणको काम हुने बताइएको छ ।

प्रतिक्रिया