डिपिएल माघको दोश्रो साता

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) माघ १९ गतेबाट सुरु हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले शुक्रबार रुस्लानसँगको मुख्य प्रायोजन सम्झौता कार्यक्रममा डिपिएल–३ माघ १९ गतेदेखि फागुन ४ गते सम्म धनगढीमा प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुनेछ ।

यसअघिका दुई संस्करणमा प्रतियोगिता भएको संघीय इकाई प्रहरी कार्यालयको मैदानलाई वैकल्पिक मैदानको रूपमा तयार गरिने डिसिएका अध्यक्ष सुवास शाहीले बताए । विजय डिस्टिलरीको रुस्लानले प्रतियोगिताका लागि १ करोड १० लाख प्रायोजन गर्नेछ । सम्झौता पत्रमा शाही र रुस्लानका चिफ फाइनान्स अफिसर सतिश कर्णले हस्ताक्षर गरे ।

प्रतियोगितामा यसअघिका संस्करणजस्तै ६ सहरका ६ टोलीको सहभागिता रहनेछ । ट्वान्टी–२० संरचनामा हुने प्रतियोगिता राउन्ड रोबिन लिगको आधारमा हुनेछ । प्रतियोगितामा शीर्ष ४ मा रहने टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । जसअनुसार पहिलो र दोस्रो स्थानको टोलीले पहिलो प्लेअफ खेल्नेछन् जसको विजेता फाइनल प्रवेश गर्नेछ । तेस्रो र चौथो स्थानको टोलीले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।

इलिमिनेटरको विजेताले प्लेअफमा पराजित टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा कुल १९ खेल हुनेछन् । पहिलो दुई संस्करणको उपाधि टिम चौराह धनगढीले जितेको थियो ।

प्रतिक्रिया