रशिला र नङ्शल फाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल र युगल तथा यु—१७ गल्र्स तीनै विधातर्फ फाइलनमा प्रवेश गरेकी छिन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न सेमिफाइलनमा रशिलाले महिला एकलमा आर्मी नङसलदेवी तामाङसँगको भेट पक्का गरेकी हुन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा नङसलले एपिएफकी शोभा गौचनलाई २१–१२, २१–८ ले तथा रशिलाले गत संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङलाई २१–१३, २१–११ को सेटमा पराजित गर्दै अन्तिम दुईमा स्थान बनाउन सफल भएका हुन् ।

यस्तै, रशिलाले यु—१७ गल्र्स तर्फ मोरङकी रोज पाण्डेलाई २१–९, २१–६ को सोझो सेटमा पराजित गरिन् । यस्तै, दोस्रो खेलमा आर्मीकै रञ्जना भट्टले मोरङकै सिमा राजवंशीलाई २१–१६, २१–१५ ले हराउँदै फाइनल प्रवेश गरिन् । यसैगरी, रशिलाले नङशल तामाङसँग मिलेर महिला युगलतर्फ पनि जित निकाल्दै उपाधि नजिक पुगेकी छिन् । रशिला र नङसलको जोडीले जेस्टकी सिता राई र बाँकेकी सम्झना शर्माको जोडीलाई २१–११, २१–११ को सोझो सेटमा हराएका हुन् ।

अब रशिला र नङशलले फाइनलमा एपिएफका पूजा श्रेष्ठ र जेशिका गुरुङको सामना गर्ने छन् । यस अघि पूजा र जेशिकाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीमाथि २१–१४, १७–२१, २१–१३ को रोमाञ्चक जित हात पारे । यु–१७ ब्वाइज तर्फको खेलमा अन्तर्राष्ट्रिय स्वर्ण पदकधारी प्रिन्स दाहाल जेष्टका प्रियांन्सु सिंह क्षेत्रीलाई २१–१२, २१–९ ले हराउँदै फाइनलमा आर्मीका दिवस शंकरसँगको भेट पक्का गरे । यसअघि शंकरले जेस्टकै पेम्बा शेर्पामाथि २१–१४, १५–२१, २१–१२ को सनसनी नतिजा निकाल्दै फाइनल प्रवेश गरेका थिए ।

यस्तै, पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङले आर्मीकै रुकेश महर्जनमाथि २१–११, २१–१४ को जित निकाल्दै फाइनल प्रवेश गरे । उता तामाङका फाइनल प्रतिद्वन्द्वी एपिएफका दिपेश धामीले आर्मीका नविन श्रेष्ठलाई २१–१७, २१–६ को सोझो सेटमा पराजित गर्दै तामाङसँगको भेट पक्का गरेका थिए । पुरुष युगलतर्फ आर्मीका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले फाइनलमा एपिएफका दिपेश धामी र विजित थापा मगरसँग उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतिक्रिया