आदित्यनाथ जन्ती बनेर आउने

जनकपुर । जनकपुरको रामजानकी मन्दिरमा हुने विवाहपञ्चमीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्ती बनेर आउने भएका छन् । यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी नै आउने चर्चा चले पनि अन्तिममा आएर मुख्यमन्त्री आदित्यनाथ आउने पक्का भएको हो ।

प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री योगी आउने टुंगो लागेको जानकारी दिए । मुख्यमन्त्रीसँगै केन्द्रीय रेलमन्त्री सुरेश प्रभु पनि जन्ती बनेर आउनेछन् ।

मुख्यमन्त्री योगी अयोध्याबाट जन्ती बनेर सडकमार्ग हुँदै जनकपुर आउनेछन् । मंसिर २६ गते विवाहपञ्चमीमा योगीसहित आउने जन्तीलाई स्वागत गर्न प्रदेश सरकारले तयारी थालेको छ । राम र सीताको विवाहको सम्झनामा हरेक वर्ष मंसिरमा जनकपुरमा विवाहपञ्चमी महोत्सव आयोजना हुन्छ । नेपाल र भारतका हजारौँ सहभागी रहने महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने चलन छ ।

भारतका उच्च पदस्थ व्यक्ति जन्ती बनेर आउने भएपछि प्रदेश सरकारले महोत्सवका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए । महोत्सवमा भारतको अयोध्याबाट जन्ती बनेर आउने सबैलाई प्रदेश २ सरकारले धोती र गम्छा उपहार प्रदान गर्ने भएको छ । ‘महोत्सव धुमधामसित मनाउन कुनै कसर बाँकी राखिन्न,’ उनले भने । बाहिरबाट आउने साधुसन्तका लागि पनि भोजन र आवासको व्यवस्था गरिएको छ ।

मुख्यमन्त्री योगीको भ्रमण तयारी बुझ्न भारतीय राजदूत मन्जिभसिंह पुरी बिहीबार जनकपुर आएका थिए । उनले भ्रमणबारे प्रदेश सरकार, जनकपुरका मेयर लालकिशोर साह र धनुषा प्रहरी प्रशासनसँग छलफल गरेको छन् । जानकी मन्दिर र रंगभूमि मैदानमा विवाहपञ्चमीको कार्यक्रम आयोजना गरिनेछ । जानकी मन्दिरले पनि महोत्सव तयारी थालेको छ ।

यसैबीच, भारतीय रेलमन्त्री सुरेश प्रभु र उत्तरप्रदेशका मुख्यमन्त्री योगीले भारतीय लगानीमा निर्माण गरिएको जयनगर–जनकपुर–कुर्था ब्रोडगेज रेल्वे खण्ड उद्घाटन गर्ने कार्यक्रमसमेत तय भएको बताइएको छ । महोत्सवकै दिन उनीहरूले रेल्वे लाइन उद्घाटन गर्नेछन् ।

प्रतिक्रिया