तीन अर्बको सेयर बिक्रीको तयारी

काठमाडौं । विभिन्न २१ कम्पनीको तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १ सय मूल्य बराबरको साधारण सेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ ।

नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले सेयर बिक्रीका लागि आवेदन दिएका हुन । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक लगानी कम्पनीसँग सम्बन्धित छन् । तीमध्ये जोशी हाइड्रोपावरले साधारण सेयर बिक्रीको अनुमति पाइसकेको छ ।

बोर्डमा आवेदन दिएका जलविद्युत्सँग आबद्ध कम्पनीमा सिइडिबी हाइड्रो फन्डले २२ करोड ८९ लाख ३० हजार बराबरको साधारण सेयर बिक्री गर्न लागेको छ । सयपत्री हाइड्रोपावरले तीन करोड बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । शुभं पावरले पाँच करोड ८० लाख, रुरु जलविद्युत् परियोजनाले चार करोड सात लाख ७० हजार ५ सय र माउन्टेन हाइड्रोले १८ करोड १६ लाख ११ हजार बराबरको साधारण सेयर बिक्री गर्नेछ ।

त्यस्तै बोर्डमा आवेदन दिएको पाँचथर पावर कम्पनीले रु १९ करोड २५ लाख तथा ग्रिनलाइफ हाइइड्रोपावरले १८ करोड बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । मैलुङखोला जलविद्युत् कम्पनी आवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । सो कम्पनीले सात करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ, युनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार, शिवश्री हाइड्रोपावरले १४ करोड ७६ लाख ४० लाख र घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ ।

बोर्डमा आवेदन दिएको गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले दुई करोड, लघिङ बुद्ध पावरले नौ करोड ७८ लाख र युनियन हाइडेल कम्पनीले पाँच करोड ५० लाख बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । साधारण सेयर बिक्रीका लागि आवेदन दिनेमा आशा लघुवित्त वित्तीय संस्थासमेत छ । सो संस्थाले ६ करोड बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । यस्तै, जनसेवी लघुवित्त वित्तीय संस्थाको चार करोड २० लाख र स्पर्श लघुवित्त वित्तीय संस्थाको दुई करोड ४० लाख बराबरको साधारण सेयर बिक्री स्वीकृतिको चरणमा छ ।

अनुमतिको प्रक्रियामा रहेको मर्चेन्ट बैंकमा सिबिआइएल क्यापिटल लिमिटेड पनि छ । सो कम्पनीले तीन करोड बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । त्यस्तै, स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको एक करोड ८० लाख बराबरको साधारण सेयर बिक्रीका लागि स्वीकृतिको चरणमा छ । बोर्डले चालु आवको हालसम्म एक अर्ब ६१ करोड ४९ लाख ९० हजार बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डका प्रवक्ता निरज गिरीका अनुसार विभिन्न चार कम्पनीले साधारण सेयर बिक्रीका लागि अनुमति लिएका छन्् । अनुमति लिएकामध्ये कालिका पावर कम्पनीले १२ करोड बराबरको साधारण सेयर बिक्री गरिसकेको छ । यस्तै, चौतारी लघुवित्त वित्तीय संस्थाले पाँच करोड ४० लाख र हिमालयन ऊर्जा विकास कम्पनीले स्थानीयवासीलाई नौ लाख ९० हजार बराबरको साधारण सेयर बिक्री गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्य भोटेकोसी जलविद्युत् कम्पनीले कात्तिक २८ गतेदेखि एक अर्ब ४४ करोड बराबरको साधारण सेयर बिक्री गर्दैछ ।

प्रतिक्रिया