न्युजिल्यान्डमाथि पाकिस्तानको सहज जित

एजेन्सी, अबुधावी । न्युजिल्यान्डसँगको दोस्रो वान डे खेलमा पाकिस्तानले सहज जित निकालेको छ । शुक्रबार राती अबुधाबीमा भएको खेलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले तीन वान डे शृंखलमा १–१ को बराबरी गरेको छ ।

न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य पाकिस्तानले ४० दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गरेको हो । पाकिस्तानलाई सहज जित दिलाउन ओपनर फकर जमान र बाबर आजमले पहिलो विकेटका लागि २८ दशमलव २ ओभरमा १ सय ५५ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर इमाम उल हक १६ रन बनाई रहेको अवस्थामा बलले लागेर घाइते भएपछि बाबर ब्याटिङ गर्न आएका थिए ।

पहिलो विकेटका रूपमा आउट भएको जमानले उत्कृष्ट ब्याटिङ गरे । ८८ रन बनाउन समान बल सामना गरेका उनले ११ चौका प्रहार गरे । बाबर आजमले ५० बलमा ४६ रन बनाउन ५ चौका प्रहार गरेका थिए । त्यस्तै, मोहम्मद हफिज २७, सोएब मालिक १३ र कप्तान सरर्फराज अमिदले १० रन जोडे । न्युजिल्यान्डका लागि ला ‘की फग्यूसनले ३ तथा इस सोधिले १ विकेट लिए पनि जितका लागि त्यो प्रयाप्त हुन सकेन ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९ रन बनाउन सक्यो । सुरुआत देखि नै खराब प्रदर्शन गरेको न्युजिल्यान्डले १६ ओभरभित्र आफ्ना शीर्ष ४ ब्याटम्यान गुमाउँदा ७३ रन मात्र बनाएको थियो ।

पाँचौँ विकेटका लागि हेनरी निकोलस र रोस टेलरले ७५ रनको साझेदारी गर्दै सम्मानजनक स्थितिमा पु¥याउने काम गरेका थिए । तर, हसन अलीले ३७ दशमलव ३ ओभरमा निकोलसलाई बोल्ड आउट गर्दै ३३ रनमा पेभिलिएन फर्किएपछि न्युजिल्यान्डको विकेट पतन पुन जारी रह्यो र सस्तैमा रोकिनु प¥यो ।

टेलरले एक तर्फबाट रन बनाउँदा अर्को तर्फबाट विकेट पतन जारी रहँदा न्यजिल्यान्डले सामान्य योगफल तयार पारेको हो । टेलरले उत्कृष्ट ब्याटिङ गरे । १ सय २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ८६ रनमा नट आउट रहे । टिम साउदी, इस सोधी र कोलिन मुनरोले समान १३ रन बनाए । जार्ज वर्करले २८ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।

न्युजिल्यान्डलाई सस्तैमा रोक्न पाकिस्तानका साहिन साह अफ्रिदीले उत्कृष्ट बलिङ गरे । उनले मात्र ९ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, हसन अलीले २ विकेट लिँदा सादब खान र हफिजले समान एक÷एक विकेट हात पारे । पहिलो खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ४७ रनले पराजित भएको थियो । यी दुई टोलीबीच अन्तिम तथा तेस्रो खेल आगामी आइतबार हुनेछ ।

प्रतिक्रिया