अनलाइन सेयर कारोवार आजदेखि

काठमाडौं । मंगलबार (आज) देखि सेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिए । शेयर कारोवार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोवार सम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोवार गर्न सक्नेछन ।

स्टकले गत साउन १ गतेदेखि परिक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरूले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् ।

स्टकका प्रवक्ता पराजुलीका अनुसार शेयर कारोवारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो । यसअघि शेयर कारोवार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रूपमा नै जानुपर्ने वाध्यता रहेको थियो ।

नयाँ प्रणालीको जडानसँगै कारोवार गर्दै आएकाले दलाल मार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ । व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ ।

पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रूपमा बढ्दै जाने र सो प्रणाली नेपालको पूँजी बजारको कोशेढुंगा सावित हुने विश्वास स्टकले लिएको छ ।

प्रतिक्रिया