युभेन्ट्सको जित

एजेन्सी, मिलान । साबिकको विजेता युभेन्ट्सले शनिबार सिरी ‘ए’ मा काग्लियारीलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थान कायम राख्दा दोस्रो र तेस्रो स्थानका इन्टर मिलान र नेपोलीले पनि आफ्नो खेलमा जित हात पारेका छन् ।  बुधबार म्यानचेस्टर युनाइटेडसँग च्याम्पियन्स लिगमा भिड्न लागेको युभेन्ट्सले काग्लियारीलाई पराजित गर्दै मनोबल उच्च बनाएको हो । युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा पाउलो डिबालाले पहिलो मिनेटमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

३६औं मिनेटमा काग्लियारीका जोओ पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसको दुई मिनेटपछि काग्लियारीका फिलिप बर्दारिचले उपहार गोल दिँदा युभेन्ट्सले अग्रता पाएको थियो । त्यस्तै खेल सकिन तीन मिनेट बाँकी रहँदा हुवाँ काउड्राडोले गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरेका थिए ।

उता दोस्रो र तेस्रो स्थानका इन्टर र नेपोलीले विपक्षीको पोस्टमा समान ५÷५ गोल गरे । यद्यपि दुवै टोली शीर्ष स्थानको युभेन्ट्सभन्दा ६ अंकले पछि रहेका छन् । दुवै टोलीको समान १० खेलबाट समान २५ अंक रहेको छ भने युभेन्ट्सको १० खेलबाट ३१ अंक रहेको छ । इन्टरले जिनोवालाई ५–० ले पराजित गरेको हो भने नेपोलीले इम्पोलीलाई ५–१ ले पराजित गरेको हो ।

इन्टरको जितका लागि रोबर्टो गाजलिआर्दिनीले दुई तथा माटियो पोलिटानो, जोओ मारियो र राद्जा नइङ्गोलनले क्रमशः १६औं र मारियो र नइङ्गोलनले इन्जुरी समयमा समान १÷१ गोल गरे । दुई गोल गरेका गाजलिआर्दिनीले १४औं र ४९औं मिनेटमा गोल गरेका थिए । अधिकांश समय बलमा नियन्त्रण राख्दै उत्कृष्ट खेल पस्किएको इन्टरले बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनासँग खेल्नका लागि मनोबल उच्च बनाएको छ ।

उता इम्पोलीलाई पराजित गर्न नेपोलीका लागि डेरिस मेरटेन्सले ह्याट्रिक पूरा गरे पनि लोरेन्जो इनसिग्नेले नवौं तथा एरिक मिलिकले अन्तिम मिनेटमा गोल गरेका थिए । इनसिग्नेले ३८औं, ६४औं र इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

यस्तै लिगअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा फियोरिन्टना र रोमाले एक÷एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ३२औं मिनेटमा पेनाल्टीबाट लिएको अग्रतालाई अन्तिम पाँच मिनेट जोगाउन नसक्दा फियोरिन्टना घरेलु मैदानमा रोमासँग स्तब्ध बन्दै अंक बाँडेको हो । फियोरिन्टनाका लागि भेरेटोउटले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए भने रोमाका एलेसान्द्रो फ्लोरिन्जीले ८५औं मिनेटमा गोल गर्दै हारको संकट टारेका थिए ।

त्यस्तै आइतबारै सम्पन्न अर्को खेलमा लाजियोले एसपिएएललाई ४–१ ले पराजित गर्दै अंकतालिकामा तीन अंक जोड्न सफल भएको छ । लाजियोको जितका लागि सिरो इमोबिलले दुई गोल गरे भने एसपिएएलका लागि मिर्को एन्टेनुसीले सान्त्वना गोल फर्काए । दोस्रो हाफमा थप दुई गोल गरेको लाजियोका लागि डानिलो काटालिडीले ५९औं तेस्रो र मार्को पारोलोले ७०औं मिनेटमा चौथो गोल थपे । जितपछि लाजियोको ११ खेलबाट २१ अंक जोडेको छ भने पराजित एसपिएएलको १२ अंक रहेको छ ।

प्रतिक्रिया