पीपीएल: चितवन राइनोज फाइनलमा

पोखरा । नेपाली क्रिकेट राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलमा पुगेको छ । आइतबार भएको एलिमिनेटरमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै चितवनले पोखरा पल्टनसँग उपाधि भिडन्त पक्का गरेको हो ।

काठमाडौंले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य चितवनले ४ विकेटको क्षतिमा १९ औं ओभरमा प्राप्त गर्यो । चितवनले ओपनर अनिल साह र कप्तान पारस खड्कालाई सस्तैमा गुमाएपनि त्यसपछि लगातार साझेदारी हुँदा लक्ष्य सहजै प्राप्त गर्यो । अनिल १ र पारस २ रनमा आउट भए । अर्का ओपनर हरिशंकर साहले २२ बलमा २६ रन जोडे ।

समित पटेल र आरिफ शेखले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै जितको आधार तयार पारे । स्मित पटेल ४३ बलमा ३८ रन जोड्दै पेभेलियन फर्किए । आरिफ शेख २० रनमा नटआउट रहे । सन्नी पटेलले ५ बलमा नटआउट ६ रनको योगदान दिए । काठमाडौंका लागि सुशन भारीले ३ तथा पवन सर्राफले १ विकेट हात पारे । यस जितसँगै चितवन फाइनलमा पुगेको छ । पोखरा र चितवनको खेल मंगलबार हुनेछ ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं अन्तिम ओभरमा अलआउट हुनुअघि ९४ रनमात्र जोड्यो । राम्रो सुरुवात गरेको काठमाडौंले पहिलो ओभरमा १५ रन जोडेको थियो । दोस्रो ओभरमा भने काठमाडौंले महत्वपूर्ण तीन विकेट गुमायो । सन्नीले फ्याँकेको दोस्रो ओभरमा अमित श्रेष्ठ ९, गौरव तोमर १ र पवन सर्राफ शून्यमा आउट भए । नरेश बुढाएर लगत्तै पारस खड्काको बलमा एलबिडब्लुको शिकार भए ।

काठमाडौंका लागि ओपनर जयकिशन कोल्सावाला र कप्तान ज्ञानेन्द्र मल्लले पाँचौ विकेटको लागि ३८ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे । कप्तान ज्ञानेन्द्र मल्ल ३० रन तथा जयकिशन कोल्सावा २५ रनमा आउट भए । तल्लो क्रममा अन्य ब्याट्सम्यानले राम्रो साझेदारी गर्न नसक्दा काठमाडौं कम रनमा खुम्चियो ।

आदील खान, अमरसिंह राउटेला ९ र सुशन भारी ३ रनमा पेभेलियन फर्किए । काठमाडौंको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा सन्नी पटेलले ४ ओभरमा ९ रन खर्चदै ३ विकेट लिए । भुवन कार्कीले १० रन खर्चदै २ विकेट लिए । स्मित पटेलले २ तथा करण केसी र पारस खड्काले १(१ विकेट हात पारे ।

प्रतिक्रिया