सरकार जनताको पक्षमा उभिएको छः दाहाल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको पक्षमा सरकार उभिएको बताएका छन् । विकास र समृद्धिका कामलाई सरकारले तीव्रता दिएको र दिँदै जाने बताए ।

सरकारले केही गर्न सकेन भनेर प्रतिक्रियावादीले गलत भ्रम फिजाएकाले गलत गर्नेहरूको नेकपा र सरकारले विश्वास नगर्ने बताए । नेकपा रूपन्देहीले शनिबार प्रदेश नम्बर ५ को बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब विकास निर्माणमा क्रान्ति ल्याउने समय आएको बताए ।

उनले आउने पांच वर्षमा विकासको न्यूनतम पूर्वाधार तयार गर्ने र १० वर्षपछि तीव्र गतिमा विकास भएको देशको रूपमा नेपाललाई परिणत गर्ने दावी गरे ।

सरकारको मामले अब गतिलिने बताउँदै अध्यक्ष प्रचण्डले खाल्डो पुर्नेजस्ता काम देखिने तर ऐन बनाउने काम नदेखिने हुनाले सरकारले काम गरेको छैन कि भन्ने लागे पनि काम भईराखेको बताए । संविधानले निर्देश गरे अनुसार सरकारले मुलुकी ऐन बनाएको बताउंदै प्रतिक्रियावादीहरूले नदेखे पनि सरकारले काम गरेको दाबी गरे । अस्ति भर्खरसम्म बर्खा थियो । हिलोमैलो थियो । हिलोमा पिच गर्न भएन ।

सरकारले गाडी एक नम्बरमा गुडाएको थियो । हिलोमा दुई -तीन नम्बरमा त गाडी नगुड्ने बताउँदै उनले ‘अब मौसम फेरिएको छ । सरकारको गाडी दुई-तीन नम्बर गियरमा गुड्छ’ भने । अवको दशक विकासको क्रान्ति ल्याउने दशक भएको उल्लेख गर्दै सरकार र पार्टीको समिक्षा गर्दै आफूहरूको अनुभवबाट अगाडि बढ्ने बताए । अध्यक्ष प्रचण्डले केहीदिन भित्रै पार्टी एकतालाई टुंगाउने उल्लेख गर्दै केही प्राविधिक कारणले ढिलाई भएको बताए ।

उनले भोली विवाद नआओस भनेर पनि एकतामा ढिलाई भएकाले अब केही दनमै सबै तहमा पार्टी एकता सम्पन्न हुने दोहोर्याए । जनकपुर– सीमरा रेल छिट्टै उद्घाटन हुने बताउंदै अध्यक्ष प्रचण्डले चीन– काठमाडौं र काठमाडौं –पोखरा रेल बनाउने बताए । उनले पार्टी एकता र दुई तिहाईको सरकार गठन भएपछि नेपाल भूपरिवेष्टितबाट मुक्त भएको उल्लेख गर्दै ल्याण्डफिडबाट ल्याण्डलिंक देश बनेको दावी गरे । व्याक्तिगत स्वार्थ भन्दामाथि उठेर राष्ट्र र जनताको हितमा पार्टी एकता गरिएको बताए ।

प्रतिक्रियावादीहरूको इच्छा आकांक्षा विपरित पार्टी एकता भएकाले बिरोधीहरू तर्सिएको बताए । दुई पार्टीको एकता एक असधारण परिघटना भएको अध्यक्ष प्रचण्डको भनाई छ । उनले पांच नम्बर प्रदेश नेपालको सन्दर्भमा असाधारण महत्व राख्ने प्रदेश भएको बताउंदै पांच नम्बर प्रदेशको विशिष्ट महत्व रहेको बताए ।

१४ वर्ष कारागार र १४ वर्ष वनवासको योगदानबाट व्यवस्था परिवर्तन आएको बताए । उनले व्यवस्था परिवर्तनपछि ल्याईएको संघीयता कार्यान्वयन गर्नुपर्ने र संघीयतालाई कर्मचारी तन्त्रले नस्वीकारेको बताए । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकारको मूल्याकंन गर्ने बेला अझै नभएको बताए । सरकार गठन भएको छोाटो अबधीमै सरकारले काम गरेन भन्ने बिरोधीहरूको भनाई स्वभाविकै भएको बताए ।

एक आर्थिक वर्षको काम हेरेर सरकारको मुल्याकंन गर्न सकिने बताउँदै उनले सरकार सफलताका साथ अगाडि बढेको दावी गरे । सरकारले राजनीतिक स्थायित्व पुरा गरेको दावी गर्दै जनतालाई अफ्ठयारो पार्नेगरी सरकारले कर बढाएको भए पुनः मूल्याकंन गर्न सकिने बताए । दुई ठूला पार्टीबीच एकता गरेर अध्यक्ष ओली र प्रचण्डले महत्वपूर्ण युगिन काम गरेको भन्दै दुवै अध्यक्षको प्रशंसा गरे ।

एकले अर्कोलाई बुझेर एकताको जगलाई बलियो बनाउनका लागि पार्टी एकताको काम सम्पन्न हुन केही ढिलाई भएको बताए । अरु प्रदेशहरूको तुलनामा पांच नम्बर प्रदेशलाई नमुना तथा सम्वृद्वि को प्रदेशको रूपमा विकास गर्नका लागि प्रसस्त सम्भावना रहेको बताए ।

सांसद समेत रहेका महासचिव पौढेलले कालीगण्डकी तीनाउ डाईवर्सनको डिपिआरको काम अनितम चरण पुगेको बताए । प्रदेश नम्बर पांच नेकपाका इन्चार्ज तथा मुख्यमनत्री शंकर पोखरेलले चाड पर्वहरूले समाज र परिवारलाई जोड्दै जनता र पार्टीको बीचमा जीवन्त राख्ने बताए ।

प्रदेश नम्बर पांचलाई मिनी नेपालको रूपमा विकास गर्नका लागि समभावना रहेको उल्लेख गर्दै अवको यात्रा आर्थिक प्रगति तथा समृद्विको भएको बताए ।

नयाँ परिवेश र नयां संरचनाअनुसार सरकारले जनतालाई खोज्ने गरी संघीयताको व्यवस्थापन गरिनु पर्ने बताए । भारतीयले नाकाबन्दी गर्न नसक्ने गरी आधार बनाएर हरेक ठाउंका नाका खोलेर देशलाई समृद्वि बनाउन सकिने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

कार्यक्रममा नेकपाका स्थायी समितिका सदस्य तथा सांसद टोपबहादुर रायमाझी, अर्का स्थायी समितिका सदस्यद्वय छविलाल विश्वकर्मा, चक्रपाणी खनाल, नेकपा प्रदेश नम्बर पांचकी अध्यक्ष ओनसरी घर्ती लगायतले बोल्दै पार्टी एकतालाई मजवुत बनाउनु पर्नेमा जोड दिउका छन् ।

संसारभरका कम्युनिष्टहरूलाई सन्देश दिनेगरी नेपालमा कम्युनिष्ट पार्टीबीचको एकतालाई मजबुत बनाउनु पर्ने उनीहरूको भनाई । शिवराज सुवेदीको अध्यक्षता र निर्मल जीसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया