खसोग्गी खतरनाक इस्लामिस्टः साउदी राजकुमार

रियाद । साउदी राजकुमार मोहम्मद बिन सलमानले हत्या गरिएका पत्रकार जमाल खसोग्गी ‘खतरनाक इस्लामिस्ट’ भएको दाबी अमेरिकासँग गरेका विवरणहरू प्रकाशित भएका छन् ।

साउदी अरेबियाले वेपत्ता भएका खसोग्गीको हत्या भएको स्वीकार गर्नुअघि राजकुमार मोहम्मदले फोनबाट ह्वाइट हाउसलाई त्यसो भनेको बताइएको छ । तर, साउदी अरेबियाले वासिंगटन पोस्ट र न्युयोर्क टाइम्समा प्रकाशित विवरणहरूको खण्डन गरेको छ ।

अमेरिकी सञ्चारमाध्यमका लागि काम गर्ने साउदी नागरिक खसोग्गी साउदी शासकका आलोचक थिए । टर्की, अमेरिका र साउदी अरेबियाले खसोग्गीको हत्या गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासमा भएको मानेका छन् ।

तर, उनको शरीर अझै भेटिएको छैन । आफ्नो देशको राजपरिवार उनको हत्यामा संलग्न नभएको दाबी साउदी अरेबियाले गरेको छ । उसले तथ्य पत्ता लगाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

केही हप्ताअघि राजकुमार मोहम्मदले सो घटनालाई ‘अपराध’ भन्दै त्यसबाट सबै साउदीलाई पीडा भएको बताएका थिए । वासिंगटन पोस्टका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनसँगको फोनवार्तामा राजकुमार मोहम्मदले खसोग्गी मुस्लिम ब्रदरहुड नाम गरेको अन्तर्राष्ट्रिय इस्लामिक संगठनका सदस्य भएको दाबी गरेका थिए । खसोग्गी वेपत्ता भएको एक हप्तापछि अक्टोबर ९ मा सो कुराकानी भएको बताइएको छ ।

मोहम्मदले अमेरिका र साउदी अरेबियाको गठबन्धन जोगाउन ह्वाइट हाउसलाई आग्रह पनि गरेको बताइएको छ । खसोग्गीको परिवारले सो पत्रिकालाई एउटा विज्ञप्ति पठाउँदै खसोग्गी आफैँले बारम्बार त्यस्तो आरोप अस्वीकार गरेका थिए भन्दै उनी मुस्लिम ब्रदरहुडको सदस्य थिए भन्ने दाबीको खण्डन गरेको छ ।

‘जमाल खसोग्गी कुनै पनि रूपमा खतरनाक व्यक्ति थिएनन् । त्यसविपरीत दाबी गरिनु निरर्थक हुन्छ,’ विज्ञप्तिमा भनिएको छ । खसोग्गीको मृत्यु कसरी भयो भन्ने विषयमा एक मत छैन ।

टर्कीकी महिला हाथिजे जेंगिजसँग विवाह गर्न कागजपत्र मिलाउन उनी आफ्नो देशको इस्तानबुलस्थित वाणिज्यदूतावास गएका थिए । त्यहाँ प्रवेश गर्नासाथ खसोग्गीको घाँटी थिचेर हत्या गरिएको र उनको शरीर पूर्वयोजनानुसार टुक्रा–टुक्रा पारिएको दाबी बुधबार टर्कीले गरेको थियो ।

टर्कीका सञ्चारमाध्यमले यसअघि खसोग्गीलाई यातना दिइएको विवरण प्रकाशित गरेका थिए । साउदी अरेबियाले खसोग्गीको मृत्युबारे आफ्नो बोली फेरेको छ ।

उसले खसोग्गी साउदी वाणिज्यदूतावासबाट आफैँ बाहिर गएको दाबी गरेको थियो । पछि उसले उनको हत्या भएको स्वीकार्यो । योजनाबद्ध रूपमै भएको सो हत्यामा सरकारी पक्ष वा राजपरिवारको संलग्नता भने नरहेको उसको दाबी छ ।

सो घटनामा संलग्न भएको भन्दै १८ जना सन्दिग्ध व्यक्तिलाई समातिएको छ । उनीहरूलाई साउदी अरेबियामै मुद्दा चलाइने बताइएको छ । तर, टर्कीले उनीहरूलाई इस्तानबुललाई सुम्पिनुपर्ने माग राखेको छ ।

टर्कीले खसोग्गीको हत्यामा साउदी अरेबियालाई सोझै आरोप लगाएको छैन । गत हप्ता राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले साउदी राजा सलमानसँग कुरा गरेका थिए । उनीहरूबीच सो घटनाको अनुसन्धानमा सहयोग गर्ने सहमति भएको थियो ।

खसोग्गी हत्या प्रकरणका कारण साउदी अरेबियाले आलोचना खेप्नुपरेको छ । उससँग सहकार्य गरिरहेका राष्ट्रले पनि त्यस विषयमा उत्तर खोजेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियाको भनाइसँग आफू सन्तुष्ट हुन नसकेको जनाएका छन् ।

तर, साउदी अरेबियासँगको हतियार बिक्रीको लोभलाग्दो सम्झौता गुमाउन आफूले नचाहेको उनले बताउँदै आएका छन् । बिहीबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले खसोग्गीको हत्यामा संलग्नहरूलाई प्रतिबन्ध लगाउन अमेरिकालाई पर्याप्त जानकारी संकलन गर्न केही हप्ता लाग्ने बताएका थिए ।

एउटा स्थानीय रेडियोमा बोल्दै उनले अमेरिका र साउदी अरेबियाबीच गहिरो र दीर्घकालीन रणनीतिक सम्बन्ध रहेको र त्यो कायम राख्न अमेरिकाले प्रयास गर्ने बताएका छन् । फ्रान्सका विदेशमन्त्रीले खसोग्गीको मृत्युको घटना एउटा निन्दनीय अपराध भएको टिप्पणी गरेका छन् ।

फ्रान्स साउदी अरेबियासँगको आर्थिक सम्बन्धमा फ्रान्स निर्भर नरहेको भन्दै उनले प्रतिबन्ध लगाउने संकेत दिएका छन् । तर, त्यसबारे विस्तृत विवरण दिइएको छैन ।

युकेका विदेशमन्त्रीले सो घटनाले साउदी अरेबियालाई विभिन्न विषयमा दबाब दिन अमेरिका र युकेलाई अवसर दिएको हुनसक्ने टिप्पणी व्यक्त गरेका छन् ।

प्रतिक्रिया